राजनीति

उग्रता र निराशा विकास र समृद्धिको बाधकः प्रवक्ता शर्मा

दार्चुला । नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले देशको समृद्धिको बाधक कम्युनिष्ट उग्रता र काँग्रेसको निराशा भएको बताएका छन् ।

नेका दार्चुलाद्वारा आज यहाँ आयोजित ‘समसामयिक राजनीतिक अवस्था’ विषयक अन्तक्र्रियामा उनले भने, “वर्तमान अवस्थामा सत्तापक्षको उग्रता र प्रतिपक्षको निराशा विकास र समृद्धिका लागि बाधक भएको छ ।” प्रधानमन्त्री केपी शर्मा ओलीका पछिल्ला अभिव्यक्तिमा उग्रता र सत्ताको दम्भ प्रष्टै देखिएको उनको टिप्पणी थियो ।

दलहरुबीचको एकताले लोकतन्त्रलाई बलियो बनाउने भन्दै उनले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)को एकतालाई काँग्रेसले सकारात्मक रुपमा लिएको बताए । “दलहरुको विभाजनले लोकतन्त्रलाई क्षति गर्छ । दलहरुबीच एकता भयो भने त्यसले स्वाभाविक रुपमा लोकतन्त्रलाई बलियो बनाउँछ”–प्रवक्ता शर्माले भने ।

दुई पार्टीबीचको एकताले काँग्रेसलाई पनि रुपान्तरणको अवसर ल्याइदिएको उनको टिप्पणी थियो । प्रतिस्पर्धी पार्टी बलियो भएकाले काँग्रेसलाई संकट आइपर्ने हो कि जस्तो एकातिर देखिए पनि यसले बलियो पार्टीसँग टक्कर गर्न आफूहरुलाई पनि बलियो बनाउनै पर्ने उनको भनाइ थियो ।

काँग्रेस रुपान्तरण हुनु आवश्यक रहेको उल्लेख गर्दै उनले रुपान्तरणका लागि सबै कार्यकर्ताले जुट्नुपर्ने बताए ।