स्वास्थ्य

स्वास्थ्यका दरबन्दी कटौती भएपछि कर्मचारी असन्तुष्ट

काठमाडौँ । स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभागको नयाँ संरचनामा विशिष्ट ज्ञान भएका कर्मचारीको दरबन्दी कटौती गरेपछि असन्तुष्टि सिर्जना भएको छ ।

मन्त्रालयमा चिकित्सक र जनस्वास्थ्यका कर्मचारीबीचको द्वन्द्वका कारण विशिष्ट ज्ञान भएका कर्मचारीको विभागमा रहेको दरबन्दी कटौती भएकोमा कर्मचारी असन्तुष्ट देखिएका हुन् ।

आपूर्ति महाशाखाका खोप सुपरभाइजर ओमप्रसाद उपाध्यायले विभागको नयाँ प्रस्ताव गरिएको दरबन्दीमा खोप सुपरभाइजर अधिकृत, परिवार नियोजन सुपरभाइजर अधिकृत, क्षयकुष्ठ सुपरभाइजर अधिकृत, भेक्टर सुुपरभाइजर अधिकृतलगायत दरबन्दी कटौती गरिनु गलत भएको बताए ।

उनले भने, “सरकारले विशिष्ट ज्ञान भएका कर्मचारीमा लगानी गरेको छ, उनीहरुले नेपालको परिवार नियोजनको जनचेतना जगाउन, खोपको पहुँच बढाउन, कीटजन्य रोगको नियन्त्रणका लागि ठूलो योगदान गरेका छन्, उनीहरुको दरबन्दी कटौती गर्नु अन्याय हो ।”

देश संघीयताको कार्यान्वयनमा गइरहेका बेला जनशक्ति अझ बढाउदै लानुपर्नेमा सरकारले दरबन्दी कटौती गरेको भन्दै मन्त्रालयमा प्रयोगशालाका कर्मचारी, स्वास्थ्य सहायकलगायतले पनि जनशक्ति समायोजनमा असन्तुष्टि रहेको भन्दै निवेदन दर्ता गराएका छन् ।

स्वास्थ्य मन्त्रालयमा गठित संघीयता कार्यान्वयन इकाइका संयोजक मोहम्मद दाउदले केन्द्रका दरबन्दी कटौती गरिएको स्वीकार गर्दै ती जनशक्तिलाई प्रदेश, प्रदेश केन्द्र र स्थानीय तहमा समायोजन गरिने बताए ।

कर्मचारी व्यवस्थापन नहुने हो भने विगतमा सम्पादन गर्दै आएका काम प्रभावित हुने देखिन्छ ।