पु.समाचार

आवश्यक विधेयक छिट्टै संसद्मा पेश गरिनेः मन्त्री तामाङ

काठमाडौँ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले संविधान र संघीयता कार्यान्वयनका लागि आवश्यक विधेयक छिट्टै संसद्मा पेश गर्ने तयारी गरिरहेको बताएका छन् ।

रिपोर्टर्स क्लबमा आज आयोजित साक्षात्कारमा उनले प्रदेश तथा स्थानीय तहका लागि पनि कानून तर्जुमा भएपछि सरलता आउने बताए ।

मन्त्री तामाङले प्रतिनिधिसभा कार्य सञ्चालनसम्बन्धी नियमावलीमा विपक्षको पनि सहमति लिएर पारित गर्ने सरकारले तयारी गरिरहेको बताउँदै तर काममा बाधा आउने स्थिति आएमा प्रक्रियामा लैजाने स्पष्ट पारे ।

उनले फौजदारी अभियोग लागेका सभासद्लाई उन्मुक्ति दिन नहुने बताउँदै नयाँ नियमावलीले त्यस्ता सांसदलाई निलम्वन गर्ने प्रावधान राख्न लागेको बताए ।

नेपाली काँग्रेसका नेता दीलेन्द्रप्रसाद बडूले नेपाली काँग्रेस फौजदारी अभियोग लागेका सांसदको निलम्वनको विपक्षमा नभएको बताउँदै तर संविधान, कानूनको भावनाअनुसार नियमावली तयार गर्नुपर्नेमा जोड दिए ।

राजपाका नेता लक्ष्मणलाल कर्णले नयाँ संविधानलाई राजपाले अहिले पनि स्वीकार गरिनसकेको बताउँदै संविधानलाई मिचेर नियमावली ल्याउन नहुने बताए ।

पूर्वगृहमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका नेता जनार्दन शर्मा ‘प्रभाकर’ले संविधानमा समाजवादउन्मुख भनी लेखिएको जानकारी दिँदै वर्तमान सरकारले समृद्धिका लागि आम जनसमुदायलाई पनि सँगै अभियानमा सहभागी गराउने उद्देश्य राखेको बताए ।