अन्तर्राष्ट्रिय

दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो, अनुसन्धान सुरु

हवाना, क्युवा । क्युबाको हवानामा रहेको जोसे मार्टी अन्तर्राष्ट्रिय विमानस्थलमा शनिबार भएको विमान दुर्घटनामा परी मृत्यु हुनेहरुको संख्या ११० पुगेको छ ।

क्युबाका यातायात मन्त्री अडेल याज्क्वीर्डोले पत्रकारहरुलाई दिएको जानकारी अनुसार मृत्यु भएकामध्ये ९९ जना क्युबाली नागरिक रहेका छन् भने अरु ११ जना विदेशी नागरिक छन् ।

मृत्यु भएका विदेशीहरुमा चालक दलका छ जना सदस्य मेक्सिकोका छन् ।

दुर्घटनामा परेका मध्ये १९ बर्षका मैलेन, २३ बर्षका ग्रेटेल लान्ड्रोभेल र ३९ बर्षका इमिली सन्चेज गरी तीन जना मात्र जिवित रहेका थिए ।

उनीहरुको अहिले पनि गम्भीर अवस्थामा उपचार भइरहेको अधिकारीहरुले जानकारी दिएका छन् ।
यसैबीच दुर्घटनामा परेको विमानको ब्ल्याक बक्स भेटिएको छ । अधिकारीहरुले एउटा ब्ल्याक बक्स भेटिएको र यसका आधारमा अनुसन्धान सुरु गरिएको बताएका छन् ।

अधिकारीहरुले ब्ल्याक बक्स भेटिएपछि यसबाट अनुसन्धानको काम अब सजिलो हुने पनि बताएका छन् ।
क्युबामा सन् १९८० पछि पहिलो पटक यति भीषण दुर्घटना भएको हो । त्यसैले यहाँको सरकारले शनिबार र आइतबार राष्ट्रिय शोकको घोषणा गरेको छ ।