समाचार

दुर्घटनामा दुई बालकको मृत्यु

तुलसीपुर, दाङ । दाङको राप्ती गाउँपालिका वडा नं २ को लालमटियामा पूर्वबाट पश्चिमतर्फ गइरहेको लु१ख ९५०६ नंको ट्रकको ठक्करबाट आज बिहान एक बालकको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार मृत्यु हुनेमा प्यूठानको सरुमारानी गाउँपालिका वडा नं २ दर्भान निवासी आठ वर्षीय गौतम बुढाथोकी रहेका छन् । सडक पार गर्ने क्रममा उनलाई ट्रकले ठक्कर दिएको थियो ।
बालक बुढाथोकी आदर्श नमूना मावि लालमटियामा कक्षा ४ मा अध्ययनरत थिए ।
ठक्कर दिने गाडी र चालकलाई भालुवाङ प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैगरी शनिबार राप्ती नदीमा डुबेर राप्ती गाउँपालिका वडा नं १को पुल्चोकका आठ वर्षीय बालक प्रदीप रोकाको मृत्यु भएको छ ।

आमासँग नदीमा लुगाधुन पुगेका बालक रोकाको आमा लुगाधुन व्यस्त भएको बेला नदीमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुवाङले जनाएको छ ।

दिउँसो डुबेका रोकाको शव बेलुका प्रहरी र स्थानीयवासीको सक्रियतामा फेला पारेको थियो । शव परीक्षणका लागि लमही अस्पतालमा राखिएको छ ।