सूचना प्रविधि

पहिलो पटक हुदैँछ विज्ञान प्रविधि राष्ट्रिय युवा सम्मेलन

काठमाडौँ । विज्ञान, सूचना तथा प्रविधिका विभिन्न विषयगत क्षेत्रका विद्यमान अवस्थाका बारेमा समीक्षा गर्दै आगामी १० वर्षका लागि आवश्यक कार्यनीति तय गर्न आगामी असार ४ देखि ६ गतेसम्म राजधानीमा प्रथम विज्ञान तथा प्रविधि राष्ट्रिय युवा सम्मेलन आयोजना हुँदैछ ।

राष्ट्रिय युवा परिषद्को आयोजनामा हुने सो सम्मेलनमा प्राकृतिक विज्ञान, चिकित्सा र आयुर्वेद, इन्जिनियरिङ र पदार्थ विज्ञान, जीवन विज्ञान, सूचना, सञ्चार तथा प्रविधि, कृषि तथा वन विज्ञान, विकिरण तथा ऊर्जा, अति सूक्ष्म प्रविधि र व्यावसायिक शिक्षा गरी १२ वटा विषयमा कार्यपत्र प्रस्तुत गरिनेछ ।

विज्ञानलाई सर्वसाधारण जनतासँग जोड्न आवश्यक भएको भन्दै पहिलोपटक यस किसिमको सम्मेलन आयोजना गर्न लागिएको सम्मेलनका संयोजक खिम पन्थीले बताए ।

सम्मेलनका बारेमा जानकारी गराउन आज यहाँ आयोजित अन्तक्र्रिया कार्यक्रममा नेपाली युवाले विज्ञान तथा प्रविधिको क्षेत्रमा गरिरहेका आविष्कार, अनुसन्धानलाई आमसमुदाय, वैज्ञानिक र नीतिनिर्मातामा प्रस्तुत गर्नु सम्मेलनको उद्देश्य रहेको उनले जानकारी दिए ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान ९नाष्ट०का प्राज्ञ ऋषि शाहले नेपाली युवा वैज्ञानिकलाई देशभित्रै अध्ययन अनुसन्धानमा लाग्न प्रेरित गर्नुपर्नेमा जोड दिनुभयो ।

अन्तरिक्ष यात्रीसँग अन्र्तक्रिया

यसैबीच नेपाल भ्रमणमा आउनुभएकी नासाकी पूर्व अन्तरिक्ष यात्री सान्द्रा म्यागनसले अन्तरिक्ष विज्ञानसम्बन्धी विशेष प्रस्तुति दिने भएका छन् ।

नेपाल एस्ट्रोनोमिकल सोसाइटीले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिस्थान ९नास्ट० सँगको सहकार्यमा यही जेठ १६ गते हुने विशेष कार्यक्रमले विद्यार्थीलाई अन्तरिक्षसम्बन्धी कुराहरु बुझ्न मद्दत गर्नेछ ।

यस कार्यक्रममा सहभागी हुन इच्छुक व्यक्तिले आफ्नो प्रश्न ३० सेकेन्डसम्मको भिडियो जेठ ११ गतेसम्म पठाउनु पर्ने सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले बताए ।

सो अवसरमा पहिलो अन्तरिक्ष चित्रकला प्रतियोगिता २०१७, चौथौ राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाड २०१७ तथा दोश्रो विज्ञानमा महिला पुरष्कार २०१८ का विजेताहरुलाई पुरस्कार वितरण गरिने जनाइएको छ ।