शिक्षा

मिलीजुली विद्यालयका विद्यार्थीलाई दिवाखाजा

दमौली, तनहुँ । तनहुँको म्याग्दे गाउँपालिका–७, स्याङ्देस्थित मिलीजुली आधारभूत विद्यालयमा रहेका बालबालिकाका लागि लक्ष्मी ग्रुपले दिवा खाजा खुवाउने प्रतिबद्धता जनाएको छ ।

लक्ष्मी ग्रुपका सञ्चालक एवं समाजसेवी दुर्गाबहादुर अधिकारीले सो विद्यालयमा अध्ययनरत १८ जना बालबालिकालाई दिवा खाजा खुवाउने प्रतिबद्धता गरेका हुन् । छ महिनासम्मका लागि विद्यालयका सबै बालबालिकालाई दिवा खाजा खुवाउने प्रतिबद्धता जनाएको उनले बताए ।

वार्षिक परीक्षामा बोर्ड फस्ट हुने, कक्षा १, २ र ३ मा प्रथम हुने बालबालिकालाई रु पाँच÷पाँच सयसमेत उपलब्ध गराउने जानकारी अधिकारीले दिए । वडा नं ७ का अध्यक्ष पदमराज वाग्लेले पनि उक्त विद्यालयका गरीब एकजना विद्यार्थीको कापी, कलम, विद्यालय पोशाक उपलब्ध गराइ पढाई खर्चको जिम्मा लिने बताएका छन्।

विद्यालयका अध्यक्ष नरबहादुर विक, प्रधानाध्यापक नारायणी घिमिरेले अर्को विद्यालयमा गाभिन लागेको उक्त विद्यालयलाई बचाउने गरी अभिभावकले बालबालिकाको पठनपाठनमा सहयोग गर्ने उद्देश्यले सो प्रतिबद्धता जनाएको बताए । मर्ज हुने तयारीमा रहेको उक्त विद्यालयलाई बचाउन अभिभावक सचेत भएर लागिरहेको विद्यालयका सदस्य लक्ष्मण खवासले बताए ।