शिक्षा

नमूना विद्यालयमा सौर्य ऊर्जा प्रयोग गरी पढाइ

जाजरकोट । नमूना घोषणा गरिएका विद्यालयमा सौर्य ऊर्जाबाट विद्युत् उत्पादन गरी अंग्रेजी माध्यमबाट पढाइ शुरु भएको छ ।

जिल्लाको नलगाड नगरपालिकाका–१४ वटा सामुदायिक विद्यालयमा यस्तो कार्य अगाडि बढाइएको हो । प्रत्येक वडाबाट नमूना विद्यालय बनाउने भन्दै सिफारिस आएपछि नगरपालिका शिक्षा शाखाले १४ वटा विद्यालयलाई नमूना विद्यालयका रुपमा विकास गरी अंग्रेजी माध्यमबाट पढाइ शुरु गरेको छ ।

एउटा मावि र १३ वटा आधारभूत विद्यालयमा अंग्रेजी माध्यमसँगै कम्प्यूटर शिक्षासमेत शुरु गरी पढाइ थालेपछि विद्यार्थीको चाप बढेको शिक्षा शाखा प्रमुख योगेन्द्र आरसीले जानकारी दिए । नमूना बनाएका विद्यालयमा कम्प्यूटर पढाइ शुरु गर्नका लागि सौर्य ऊर्जा नगरपालिकाले उपलब्ध गराएको प्रशासकीय प्रमुख सुरेन्द्र सिंहले जानकारी दिए ।

शैक्षिक अवस्था सुधारका लागि नगरपालिकाले यस्तो काम गरेको नगरप्रमुख टेकबहादुर रावलले बताए । नमूना विद्यालयमा भवन, खानेपानी, बालमैत्री शिक्षा उपलब्ध हुँदै आएको छ । अंग्रेजी पढाइ शुरुसँगै यहाँका निजी क्षेत्रबाट सञ्चालनमा रहेका विद्यालयमा विद्यार्थीको संख्या घटेको छ ।

शैक्षिक सुधारका लागि नगरपालिकाले विभिन्न क्रियाकलाप गर्दै आएको छ । नगरपालिकाभित्रका ७२ वटा विद्यालयमा प्राथमिक उपचार बाकस वितरण गरिएको छ । विद्यार्थी बिरामी हुँदा उपचारमा सहयोग होस् भनी उपचार बाकस शुरु गरिएको हो ।

विद्यार्थी, शिक्षक र अभिभावकले पालना गर्नुपर्ने आचारसंहिता नगरपालिकाले नै बनाएर लागू गरेको छ । नगरपालिकाले शैक्षिक पात्रो निर्माण गरी शिक्षण आरम्भ गरेको बताएको छ । अन्य विद्यालयले पनि नमूना विद्यालय बनाउन चाहेमा सहयोग गर्ने नगरप्रमुख रावलले बताए । अहिले नमूना विद्यालयमा प्रोजेक्टरबाट शिक्षण गर्ने तयारीसमेत भएको छ ।

नगरपालिकाले हिजोमात्र जनप्रतिनिधिका छोराछोरी र कर्मचारीका छोराछोरी सरकारी विद्यालयमा पढाउनुपर्ने निर्णय गरेको छ । निजी विद्यालयमा पढाउन नपाउने निर्णयसँगै यहाँका सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या ह्वात्तै बढेको छ । नगरप्रमुखको साप्ताहिकरुपमा नमूना विद्यालयमा गएर अध्ययन, अध्यापनबारे जानकारी लिने गरेको प्रशासकीय प्रमुख सिंहले बताए ।

बालबालिकालाई राम्रो शिक्षा दिन आग्रह गर्दै नगरप्रमुखले भने “तपाईहरुलाई सेवा, सुविधाका विषयमा के के गर्नु पर्ने हो, म तयार छु, तर तपाईहरुले राम्रोसँग पढाइ दिनुहोला ।”