पु.समाचार

तलब सुविधा लिन सक्ने निर्णय

हेटौँडा । प्रदेश नं ३ का मुख्यमन्त्री, मन्त्री र प्रदेशसभा सदस्यले तलब तथा अन्य सेवासुविधा लिन विधेयक पारित हुने समयसम्म कुर्नु नपर्ने भएको छ ।

आज बसेको प्रदेश नं ३ को मन्त्रिपरिषद् बैठकले प्रदेशसभामा छलफलका क्रममा रहेको सेवासुविधा सम्बन्धी विधेयक पास नभएसम्मका लागि तलव र अन्य सेवासुविधा लिन सक्ने निर्णय गरेको हो ।

सरकारका प्रवक्ता एंव आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुङ्गेलले मुख्यमन्त्री र मन्त्रीको पारिश्रमिक तथा सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेशसभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित हुन समय लागेकाले तत्कालका लागि तलब सुविधा लिन बाटो खोलिएको बताए ।

यो निर्णयसँगै अब मुख्यमन्त्री, मन्त्री तथा प्रदेशसभाका सदस्य तथा पदाधिकारीले तलब तथा सेवासुविधा लिन विधेयक पारित हुने समयसम्म कुर्नुपर्ने छैन ।

प्रदेशसभा बैठकमा टेबुल भएको उक्त दुई विधेयक प्रदेशसभा विशेष समितिमा छलफलका क्रममा रहेको प्रदेशसभा सचिवालयका सचिव भरत बुढाथोकीले बताए ।

प्रस्तावित उक्त विधेयकमा मुख्यमन्त्रीले मासिक ७५ हजार, मन्त्रीले ५२ हजार, राज्यमन्त्रीले ४८ हजार र प्रदेशसभा सदस्यले रु ४५ हजार तलबसहित सेवासुविधा पाउने उल्लेख छ ।

स्थानीय तहका जनप्रतिनिधिको तलबसम्बन्धी विधेयक भने प्रदेशसभाले पारित गरिसकेको छ ।