खेलकुद

खेलकुद मन्त्रीद्धारा पूर्वाधार निरीक्षण

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अध्यक्ष युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) ले सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसर हातामा निर्माणाधीन हिटिङ पुल, कराते भवन र मर्मत भइरहेको पौडी पोखरीको सोमबार निरीक्षण गरेका छन् ।

सातदोबाटोपछि खेलकुद मन्त्री विश्वकर्माले च्यासलस्थित एन्फा टेक्निकल सेन्टरको निरीक्षण गरेका थिए । १३ औं दक्षिण एसियाली खेलकुदलाई लक्षित गरी सेन्टरको पनि स्तरबृद्धि कार्य भइरहेको छ ।

त्यस अवसरमा खेलकुद मन्त्री विश्वकर्माले निर्माण कार्यको जिम्मेवारी पाएका संस्था र परिषद्का इन्जिनियरलाई समयमा काम सम्पन्न गर्न र गुणस्तरमा विशेष ध्यान दिन निर्देशन दिएका थिए । राखेपका सदस्य–सचिव केशवकुमार विष्ट, परिषद्का इन्जिनियर, पौडी संघका अध्यक्ष अशोक वज्राचार्य, निर्माण कार्यको जिम्मेवारी पाएका संस्थाका प्रतिनिधिले कार्य प्रगतिका बारेमा खेलकुद मन्त्रीलाई जानकारी गराएका थिए ।