समाचार

प्रदेशसभा सदस्य लामिछानेको निधन

भक्तपुर । प्रदेश नं ३ का प्रदेश सदस्य हरिशरण लामिछानेको आज दिउँसो १ बजे काठमाडौँ मेडिकल कलेज सिनामंगलमा उपचारका क्रममा निधन भएको छ ।

विसं २०२४ फागुन ११ गते चाँगुनारायण नगरपालिका–६, नगरकोट, तेलकोटमा जन्मेका५१ वर्षीय लामिछानेको उपचारका क्रममा निधन भएको हो ।

आइतबार अस्पतालमा भर्ना भएका लामिछानेलाई मस्तिष्कघात भएको डाक्टरले पुष्टि गरेका छन् ।

भक्तपुर निर्वाचन क्षेत्र नं १ प्रदेश नं १ (ख) नेकपा (एमाले) बाट निर्वाचित भएका लामिछाने नेकपा (एमाले) भक्तपुर जिल्ला कमिटीका सचिवसमेत थिए । उनको श्रीमती, एक छोरा र तीन छोरी छन् ।

आज अपराह्न ४ः३० बजे उनको पशुपति आर्यघाटमा श्रद्धाञ्जलिका लागि दुई घण्टा राखेर साँझ अन्तिम संस्कार गरिने नेकपा (एमाले) भक्तपुर जिल्ला कमिटीले जानकारी दिएको छ ।