राजनीति

महिला संघमा बिबाद, महासचिब खतिवडा यसरी भईन अध्यक्ष रेग्मीप्रति आक्रोशित

काठमाडौँ । नेपाली काँग्रेसको भातृसंस्था नेपाल महिला संघमा केही दिनअघि गरिएको पदाधिकारी र सदस्यको मनोनयनमा विवाद देखिएको छ ।

संघका अध्यक्ष उमा रेग्मीले यही वैशाख २८ गते गरेको केन्द्रीय पदाधिकारी र सदस्यको मनोनयनप्रति संघका महासचिव धना खतिवडाले एक विज्ञप्तिमार्फत असहमति प्रकट गरेकी हुन् ।

महासचिव खतिवडाले महाधिवेशनबाट नेतृत्व चयन भएको करीब दुई वर्ष ढिला गरी भएको मनोनयन आफैँमा सुखद हुनुपर्ने भए पनि यो महिला संघको सांगठनिक जीवनका लागि सुखद हुन नसकेको उल्लेख गरेकी छन् ।

संघको विधान उल्लेख गर्दै अध्यक्ष रेग्मीले केन्द्रीय समितिमा सामान्य छलफलसमेत नगरी मनोमानी ढंगले मनोनयन गरेर संघमा विग्रह र विद्वेषको वातावरण सिर्जना गरेको विज्ञप्तिमा उल्लेख छ ।

“अध्यक्षले गरेको पदाधिकारी मनोनित सिंगो नेपाली महिला आन्दोलन, महिला संघ र समग्र पार्टीको हितमा छैन भन्ने हाम्रो ठहर हो । तीनवटै चरणका निर्वाचनमा पार्टीले हार व्यहोरेका अवस्थामा हामी सबै एकजुट भई पार्टी हितमा लाग्नुपर्ने बेलामा अध्यक्षको मनोमानीले संगठनलाई थप क्षति पु¥याउने पक्का छ”, विज्ञप्तिमा उल्लेख छ ।

मनोनयनको निर्णय पुनःविचार गरी सामूहिक आधारमा विधिसम्मत ढंगले निर्णय गर्न माग गर्दै अध्यक्षको एकलौटी र मनोमानी निर्णयको पुनःविचार नभए यसले संघको सांगठनिक जीवनमा हुने क्षतिको जिम्मेवार स्वयं अध्यक्ष नै हुने उनले चेतावनी दिएकी छन्।