राजनीति

ट्रम्प र किमको उदाहरण दिदैँ ओलीले भनेः ‘मोदीले अब नाकाबन्दी लगाउन सक्दैनन्’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आईतबार भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमणबारे जानकारी गराएका छन् । सम्बोधनका क्रममा ओलीले भारतले अब नाकाबन्दी नगर्ने गरी सम्बन्ध सुधार गरिएको बताएका छन् ।

सम्बोधनका क्रममा उनले भने ‘त्यतिबेला म प्रधानमन्त्री थिएँ, नाकाबन्दी थियो, नाकाबन्दी नहटे म भारत जान्नँ भनें । नाकाबन्दी हटाएरमात्र म भारत गएँ,’ ओलीले अघि भने, ‘त्यस्तो तनावपूर्ण सम्बन्धलाई सुधारेर नाकाबन्दी नहुने स्थितिमा पुगेको छ । अब नाकाबन्दी हुँदैन ।’

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनको भावी भेटको उदाहरण दिँदै सम्बन्ध सुधारको विकल्प नभएको बताएका छन् ।

उनले सम्बोधनकै क्रममा भने ‘कतिपयले ‘वान वन वान’ वार्ताको र ठूला लेनदेन गर्न हुने वार्ताको महत्व बुझ्दैनन्,’ प्रधानमन्त्री ओलीले भने, ‘कतिपय कुरा सामूहिक रूपमा भन्दा नसल्टिने खालका हुन्छन्, एक्लाएक्लै त्यो पनि पटकपटक छलफल गरेपछिमात्रै टुंगिन्छ ।’

‘भारतीय प्रधानमन्त्री मोदीले नेपाल सार्वभौमसत्ता, अखण्डता, प्राथमिकता र आवश्यकतामा अघि बढाउँदा चित्त नदुख्ने अभिव्यक्ति दिनुभएको छ,’ ओलीले भने, ‘यो नयाँ सम्बन्धको प्रस्थान विन्दु हो ।’

‘त्यतिबेला पनि नेपाल भारत सम्बन्ध बिग्रेकोमा दुखी छौं र सम्बन्ध बिग्रनुका कारण हटाउन चाहन्छु भनेको थिएँ, अहिले सम्बन्ध सुधारको क्रममा छ, त्यसो हुनु भनेको त हामी खुसी हुनु हो,’ प्रधानमन्त्रीले भने ।

भारतीय प्रधानमन्त्री मोदीले शनिबार काठमाण्डु महानगरपालिकाले गरेको नागरिक अभिनन्दनमा दोहा¥याएर ‘नेपाल आफ्ना प्राथमिकता र आवश्यकतामा अघि बढोस् भारत साथ दिन तयार छ’ भनेका थिए ।

प्रधानमन्त्री ओलीले साथी बदल्न सकिने तर छिमेकी बदल्ने नसकिने भएकाले दुई देशबीचको सम्बन्ध प्रगाढ बनाउनुको विकल्प नभएको बताएका छन् ।