खेलकुद

व्यास नगर अल्ट्रा म्याराथनको उपाधि सेनाका साउदलाई

दमौली, तनहुँ । तनहुँको व्यास नगरपालिकाद्वारा शनिबार आयोजित व्यास नगर अल्ट्रा म्याराथनको उपाधि नेपाली सेनाका प्युठ ३२ वर्षीय नवराज साउदले जितेका छन् । १५९ जना धावकलाई पछाडि पार्दै उनले उपाधि जितेका हुन् ।

४४ किलोमिटरको दूरी ३ घण्टा १३ मिनेट ५३ सेकेण्डमा पार गर्दै साउदले उपाधिमाथि कब्जा जमाएका हुन् । त्रिभुवन आर्मी क्लब काठमाडौँमा प्युठमा कार्यरत साउदले समयलाई ख्याल गरी दौडदा आफू प्रथम हुन सफल भएको बताए ।

यसअघि साउदले पोखरामा भएको ४२ किलोमिटर सफल म्याराथनमा प्रथम भई रु ६० हजार र हेटौँडामा खुल्ला म्याराथनमा द्वितीय भई रु २५ हजार पुरस्कार जितेका थिए । त्रिभुवन आर्मी क्लबमा अम पदमा कार्यरत ३३ वर्षीय राजन खत्री ३ घण्टा १७ मिनेटमा दूरी पार गर्दै द्वितीय भएका छन् । रुकुम घर भएका शिक्षक २९ वर्षीय दुर्गा बुढा मगर ३ घण्टा १९ मिनेट ३१ सेकेण्डमा दूरी पार गर्दै तृतीय भएका छन् । प्रथम, द्वितीय र तृतीय भएका धावकलाई क्रमशः ७५ हजार ७५, ५५ हजार ७५ र ३५ हजार ७५ रुपैयाँ प्रदेश नं। ४ का सांसद डोबाटे विक।, सरिता गुरुङ र व्यास नपाका प्रमुख वैकुण्ठ न्यौपानेले संयुक्त रुपमा वितरण गरेका थिए ।