मनोरञ्जन

हिलिहाङ महोत्सव सकियो

पाँचथर । “कृषि, ऊर्जा पर्यटन र व्यापार समृद्ध हिलिहाङ निर्माणको आधार” भन्ने नाराका साथ पाँचथरको हिलिहाङ गाउँपालिकामा सञ्चालन भएको महोत्सव हिलिहाङ महोत्सव आज सम्पन्न भएको छ ।

महोत्सवमा झण्डै १५ हजार भन्दा बढी दर्शकले अवलोकन गरेको हिलिहाङ गाउँपालिकाका प्रवक्ता मदन गौतमले बताए ।

यस्तै त्यस क्षेत्रमा रहेका मनोरम केही स्थललाई वनभोजस्थलको रुपमा विकाश गरिनेछ । खेलकूदको लागि सुविधा र साइजयुक्त मैदान तथा होमस्टे निर्माणको पूर्वाधार तय गरिने गाउँपालिकाका योजना प्रमुख देवेन्द्र कटुवालले बताए । पाँच दिनसम्म सञ्चालन भएको महोत्सव आज सकिएको हो ।

हिलिहाङ दरबारको इतिहास

नेपाल एकीकरणमा गोर्खाली राजा पृथ्वीनारायण शाह र हस्तपुरयकका अन्तिम राजा हिलिहाङ योङहाङका सेनाबीच १७ औं पटकसम्म भएको युद्धले कुनै पक्षबीचको हारजित नभएपछि राजा हिलिहाङकै सक्रियतामा नेपाल एकीकरणको महान अभियानमा महत्वपूर्ण सम्झौता गरेका थिए ।

गोर्खाली राजा र हिलिहाङबीचको सम्झौता अनुसार स्थानीय तहको शासन सञ्चालन हिलिहाङले गर्ने, र गोर्खालाई केन्द्रीय सरकार मान्ने सम्झौता भएको इतिहास छ । पृथ्वीनारायण शाह र हिलिहाङबीच विसं १८१४,१८३१ र १८४२ मा भएको सम्झौतालाई महत्वपूर्ण सम्झौताको रुपमा लिने गरेको किराती इतिहासका इतिहासविद्हरु बताउँछन् ।

गोर्खाली राजासँग दाजुभाइको सम्बन्ध स्थापना गरेको हिलिहाङ योङहाङको निधनसँगै किरातीहरुको अतुलनीय क्षति भयो । उनको मृत्युसँगै सिक्किमे राजाले किरातलाई आक्रमण गरी किराती भूमिमा कब्जा गर्ने दुशाहस समेत भयो । गोर्खा जस्तो शक्तिशाली सैनिकले १७ पटकसम्म आक्रमण गर्दा पनि पराजित हुन नसकेको किराती शासकहरुको इतिहासमा उल्लेख छ ।