खेलकुद

अन्तर्राष्ट्रिय कराते प्रतियोगिता शुरु

काठमाडौँ । नेपाल सितोरियो कराते डो संघ, शाखा डोजो सामाखुशीको आयोजनामा चौँथो अन्तर्राष्ट्रिय कराते प्रतियोगिता आजदेखि लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा शुरु भएको छ ।

पहिलो दिन आज नेपाली खेलाडीबीच मात्र प्रतिस्पर्धा भयो । पुरुष ६० केजी तौलसमूहमा करण गुरुङ र सैलेश दनुवार तथा खुलामा सुमन तामाङ र निशान तामाङ सेमिफाइनलमा पुगे ।

महिला ४० केजीमा युनी महर्जन र बिनिता चापागाईं तथा ४५ केजीमा सुमित्रा अधिकारी र वर्षा बुढा मगरले सेमिफाइनलमा स्थान सुरक्षित गरे । एकल काताको पुरुष सिनियरमा युरोदीश रोका र दीप राजवाहक तथा जुनियरमा करण बुढाथोकी र सुजन श्रेष्ठ सेमिफाइनलमा पुगे । एकल काताको जुनियर महिलामा सुष्मा पुन र स्मारिक ओझाले सेमिफाइनल यात्रा तय गरे ।

प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद्का सदस्य एवं नेपाल कराते महासंघका अध्यक्ष दावा गुरुङले एक कार्यक्रमबीच उद्घाटन गरे । शनिबारसम्म चल्ने उक्त प्रतियोगितामा नेपाल, भारत, बंगलादेश, श्रीलंका, पाकिस्तान, भुटान र नाइजेरियाका ४६५ खेलाडीले विभिन्न २६ स्पर्धामा प्रतिस्पर्धा गरिरहेको आयोजक डोजोका प्रमुख राजेन्द्रकुमार ओझाले जानकारी दिए ।

प्रकाश दाहाल स्मृति राष्ट्रिय खुला बक्सिङ
नेपाल बक्सिङ संघको तत्वावधान तथा अखिल नेपाल खेलकुद संघको आयोजनामा प्रथम प्रकाश दाहाल स्मृति पुरुष तथा महिला राष्ट्रिय खुला बक्सिङ प्रतियोगिता हुने भएको छ ।

माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालका छोरा स्व प्रकाशको स्मृतिमा हुने उक्त प्रतियोगिता आगामी असार ३ गतेदेखि हुने आयोजक संघका अध्यक्ष एवं नेपाल बक्सिङ संघका वरिष्ठ उपाध्यक्ष अर्जुनबहादुर केसीले आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।

प्रतियोगितामा पुरुषतर्फ १० र महिलामा आठ गरी जम्मा १८ स्पर्धामा प्रतिस्पर्धा हुनेछ । पुरुषमा ४९, ५२, ५६, ६०, ६४, ६९, ७५, ८१ र ९१ केजी तथा ९१ केजीमाथि तौलसमूहमा प्रतिस्पर्धा हुनेछ भने महिलामा ४८, ५१, ५४, ५७, ६०, ६४, ६९ र ७५ केजीमा भिडन्त हुनेछ ।

बक्सिङ संघका अध्यक्ष राम अवालेले प्रतियोगिताले खेलाडीलाई ‘एक्सपोजर’ दिनुका साथै नयाँ खेलाडीको पहिचान हुने बताउँदै प्रतियोगिता सफल पार्न सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रतियोगितामा विभिन्न जिल्ला, क्लब र विभागीय टोली गरी करिब २०० खेलाडीको सहभागिता रहने अपेक्षा गरिएको आयोजकले जनाएको छ । तीनदिने उक्त प्रतियोगिताका खेलहरु त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुनेछ ।