उर्जा

विद्युत् खेर जाने अवस्थामा

पाँचथर । थपिएको समयमा पनि काबेली करिडोर विद्युत् प्रसारण लाइनको काम नसकिँदा उत्पादन भएको विद्युत् खेर जाने अवस्थामा पुगेको छ ।

प्रसारण लाइनको काम समयमा नसकिँदा १५ मेगावाट क्षमताको हेवा ‘ए’ जलविद्युत् आयोजनाको ३३ केबिएबाट पाँच मेगावाट मात्र केन्द्रीय प्रसारणमा जडान हुँदैछ । यही प्रसारणबाट २२ मेगावाटको तल्लो हेवा, २५ मेगावाटको काबेली बी–१ तथा १० मेगावाटको इवा खोला जलविद्युत् आयोजनाको काम अन्तिम चरणमा पुगेको छ ।

उत्पादन गरेर विद्युत् प्रसारण लाइनमा हाल्ने अवस्था नरहेको तल्लो हेवा जलविद्युत् आयोजनाको माउण्टेड हाइड्रोपावर कम्पनीका अध्यक्ष सीताराम तिम्सिनाले बताए । आयोजनाको काम अन्तिम चरणमा छ । करिडोरको थपिएको काम २०७५ वैशाख १० गते सकिएको छ ।

फागुनमा विद्युत् प्रसारण लाइन काबेली करिडोरको अनुगमनमा आएका नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ठेकेदार कम्पनीलाई थपिएको समयसिमामा जसरी पनि काम सक्न निर्देशन दिनुभएको थियो । दोस्रो पटक थपिएको म्यादमा पनि काम सकिएको छैन ।

पूर्वी पहाडका पाँचथर, ताप्लेजुङ र इलाममा उत्पादित विद्युत् राष्ट्रिय प्रसारणमा जोड्न १३२ केबिए प्रसारण लाइनअन्तर्गत इलामको सोयाकदेखि पाँचथरको अमरपुरसम्मको काममा ढिलाइ भएको हो । आर्थिक वर्ष २०६६÷६७ देखि करिडोरको काम शुरु भएको थियो । आव २०७१÷७२ भित्र सक्ने शुरुवाती योजना थियो ।

दोस्रो पटक थपिएको म्यादमा पनि काम नसकिएको आयोजना प्रमुख दीपेन्द्रराज द्विवेदीले बताए । भारतीय ठेकेदार कम्पनीले राम्रोसँग काम नगर्दा तथा निर्माण क्षेत्रमा भएको समस्या सुुल्झाउन नसक्दा थपिएको समयमा काम नसकिएको हो । इलामको सिद्धिथुम्का र चमैतामा स्थानीयवासीको अवरोध कायमै छ । प्रसारणलाइन रु एक अर्ब ३० करोडमा ठेक्का लगाइएको थियो ।