राजनीति

तेस्रो नाकाबन्दी भोग्नु अत्यन्तै खेदजनक- विवेकशील साझा

काठमाण्डौ । विवेकशील साझा पार्टीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दुईदिने नेपाल भ्रमणलाई लिएर आफ्नो धारणा राखेको छ । स्थानीय तह, प्रदेश सभा तथा प्रतिनिधि सभा निर्बाचनमा लोकप्रीयता हाँशिल गरेको उक्त पार्टीका बिदेश बिभाग प्रमुख डा दिनेश प्रसाईले जारी गरेको बिज्ञप्तीमा मोदीको भ्रमणले दुईदेशबीचको सम्बन्ध प्रगाढ हुने अपेक्षा गरिएको छ ।

डा. प्रसाईले जारी गरेको बिज्ञप्ती जस्ताको तस्तै,”भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको वैशाख २८ र २९ गते हुन लागेको नेपालको राजकीय भ्रमणले दुई देशबीचमा कतिपय विषयमा देखिएको अविश्वास हटाई पारस्पारिक सम्बन्धलाई थप मजबुत बनाउन योगदान गर्नेछ भन्ने हामीले विश्वास लिएका छौँ। नेपाल सरकारको निम्तोमा आउन लागेका विशिष्ट अतिथिलाई विवेकशील साझा पार्टी हार्दिक स्वागत गर्दछ।

मिथिला सभ्यताका लागि परिचित जनकपुर नेपालकै ऐतिहासिक तथा सांस्कृतिक धरोहरको एउटा केन्द्र हो। अन्तर्राष्ट्रिय छविका विशिष्ट पाहुनाबाट जनकपुरको भ्रमण र जानकी मन्दिरको दर्शन हुने विषयलाई हामीले राष्ट्रिय गौरवका रूपमा लिएका छौँ। जानकी मन्दिर सहित मुस्ताङको मुक्तिनाथ मन्दिरमा प्रधानमन्त्री मोदीले गर्ने धार्मिक अनुष्ठानले विश्वभर र विशेष गरी भारतीय जनता समक्ष यी दुवै स्थानको पहिचान र प्रचारप्रसारमा सकारात्मक योगदान पुर्‍याउने छ भन्ने हामीले ठानेका छौँ। प्रधानमन्त्री मोदीको भ्रमणका क्रममा नेपाली पक्षबाट आवश्यक कूटनीतिक सावधानीहरू नअपनाइएको भए पनि उनको भ्रमणलाई हाम्रो राष्ट्रिय एकताको भावना कमजोर गर्ने ढङ्बाट टीकाटिप्पणी नगरियोस् भन्ने हाम्रो आग्रह छ।

भ्रमणको हार्दिक स्वागत गर्दागर्दै पनि हामी २०७२ सालमा विनाशकारी भूकम्पको लगत्तै प्रधानमन्त्री मोदी नेतृत्वको सरकारले नेपालमाथि लगाएको अमानवीय र अन्तर्राष्ट्रिय कानुन प्रतिकूलको अघोषित नाकाबन्दीको स्मरण गराउन चाहन्छौँ। राज्य र जनस्तर दुवै तहमा घनिष्ट सम्बन्ध रहेको ठुलो छिमेकी देशबाट नेपालले विभिन्न बहानामा तेस्रो नाकाबन्दी भोग्नु अत्यन्तै खेदजनक घटना थियो।

नाकाबन्दीले गर्दा आम नेपालीको मनमा लागेको घाउ अझै निको नभएको यथार्थसँग भारत अनभिज्ञ छैन। प्रधानमन्त्री मोदीको राजकीय भ्रमणको यो महत्त्वपूर्ण अवसरमा उनले त्यति बेला नेपालीको मनमा पुर्‍याएको चोटप्रति क्षमायाचना गर्नु जायज हुन्छ भन्ने हाम्रो धारणा हो। त्यसै गरी विगतका अन्य तिता अनुभव मेटिने गरी नेपाल-भारतबिच रहेका सीमा तथा सीमा क्षेत्रका भारतीय बाँधले उत्पन्न गरेको बाढी लगायतका विवादका विविध मुद्दाहरूको निरूपण गर्न पनि पारस्पारिक सम्मानका आधारमा दुवै देशका सरकारबाट पहल होस भन्ने हामी चाहन्छौँ।

प्रधानमन्त्री मोदीको नेपालको दुईदिने राजकीय भ्रमण सफल, सुखद र फलदायी रहोस् भन्ने हार्दिक कामना गर्दछौँ।”