सामाजिक सञ्जाल

ओलीले मोदीको विरोधबारे सामाजिक सञ्जालमा यसो लेखिन् !

काठमाडौं । आज बिहान ब्युँझनेबित्तिकै मैले मोबाइलमा ट्विटर र फेसबुक चलाए । सामाजिक सञ्जालका अधिकांश कमेन्टहरूमा मेरो ध्यान पुग्यो । अहिले सबैभन्दा बढी उठाइएको विषय रहेछ– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण । र मोदीको आसन्न नेपाल भ्रमणबारे अधिकांशले विरोध गरेका छन् । अधिकांशले भनेका छन्– हिजो नाकाबन्दी गरेर हामीलाई दुःख दिएका मोदीलाई स्वागत गर्नु हुँदैन ।

केही बौद्धिक व्यक्तिहरूले पनि त्यति बेलाको आक्रोश र रिस अहिले पोखिरहनु भएको छ । यस्तै स्टाटस र कमेन्ट देखेपछि मेरो मनमा प्रश्न उठ्यो– के साँच्चिकै मोदी भ्रमणको विरोध गर्नुपर्छ ?

पछिल्ला दिनमा विश्व राजनीतिका केही घटनाक्रमलाई मैले सुक्ष्मरुपमा फ्लो गरिरहेकी छु । उत्तर कोरिया र दक्षिण कोरियाबिच सन् १९५० को दशकपछि भएको सम्बन्धको यु टर्न, अमेरिका–उत्तर कोरियाबिच फेरिएको सम्बन्ध, उत्तर कोरियाली नेता किम जङ–उन र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच दुई पटकसम्म भएका भेटघाट, फ्रेन्च राष्ट्रपति इमानुएल म्याक्रोनले अमेरिकी संसद्मा गरेको सम्बोधन, जर्मन चान्सलर एन्जेला मर्केलले युरोपेली मुलुकहरूका राष्ट्रप्रमुखसँग गरेका कुराकानी, रुस र ईरान अनि सिरियाका सन्दर्भबारे अन्तर्राष्ट्रिय तथा नेपाली मिडियामा आएका समाचारहरू पढिरहेकी छु ।

यसले मलाई अन्तर्राष्ट्रिय राजनीति कता गइरहेको छ र हामी के गरिरहेका छौँ भन्ने विषयमा सानातिना निष्कर्ष निकाल्न सहयोग गरिरहेको छ ।

हो, म राजनीतिशास्त्रको विद्यार्थी होइन । कतिपय यस्ता सन्दर्भहरूको विषयमा मलाई अन्य बुद्धिजीवी तथा राजनीतिक विश्लेषकहरूको जति ज्ञान नहुन सक्छ । तर, के बिर्सनु हुँदैन भने नेपालमा पनि राजनीतिक तहलाई र अहिलेसम्मको राजनीतिक बुझाइलाई बदल्नुपर्छ भन्ने लागेर नै मैले लामो समय गरिरहेको पत्रकारितालाई विश्राम दिएर मैले राजनीतिक ‘एरिना’मा जम्प मारेकी हुँ ।

यो बिचमा मैले हाम्रो समाजलाई राम्रोसँग पढ्न खोजिरहेकी छु, हामी विकासको कुन चरणमा छौँ भन्ने अध्ययन गरिरहेकी छु । र, हामी सामाजिक सञ्जालमा के र कस्ता कुरामा बढी इन्गेज भइरहेका छौँ भन्ने पनि ख्याल गरिरहेकी छु ।

अहिलेसम्मको मेरो निष्कर्ष हो– हामी अझै पुग्नुपर्ने चरणमा पुगेका छैनौँ, जो सहरमा नै बस्छौँ पनि । समाजको डाइमेन्सका सन्दर्भमा होस् या सामाजिक सञ्जालको प्रयोगको विषयमा किन नहोस्, हामीले पाउनु पर्ने सफलता पाएका छैनौँ, हामी हुनु पर्ने ठाउँमा अहिले पनि पुगेका छैनौँ । अहिले मोदीको भ्रमणलाई लिएर विभिन्न प्रतिक्रिया आइरहेका छन् । तर, के बिर्सनु हुँदैन भने उनी हाम्रा छिमेकी राष्ट्रका राष्ट्रप्रमुख हुन् ।

एउटा सच्चा नेपाली भएर सोच्नुपर्ने हुन्छ– हामीले चाहेर पनि छिमेकी बदल्न सक्दैनौँ । तर, रणनीतिक हिसाबमा कदम चाल्ने हो भने छिमेकीलाई आफू अनुकूल बनाउन चाहिँ सकिन्छ । के हुनसक्छ त त्यो रणनीतिक हिसाब रु अहिले यक्ष प्रश्न यही हो ।

हामीले सोच्नु पर्ने विषय पनि यही हो । हिजो भारतले लगाएको नाकाबन्दीको पीडा अहिले पनि हाम्रो मनमा त्यसरी नै रहेको छ । त्यति बेला (नाकाबन्दीका बेला) नेपाली दाजुभाइ, दिदीबहिनीले दिनहुँ जीवनमा पनि निकै ठूला समस्यासँग साक्षात्कार गर्नुपर्‍यो । तर, त्यो पीडा सम्झिएर अहिले मोदीको विरोध गर्नुमा कुनै अर्थ छैन । किनकि अहिलेको विरोधले त्यतिबेलाको घाउमा कुनै अर्थ राख्दैन । त्यसले हामीलाई न पीडा भुल्न सहयोग गर्छ, न गहिरो गरी बसेको त्यो घाउलाई सन्चो पार्छ ।

हामीले त अहिले मोदीसँग हिजोका सम्झौताहरूबारे कुरा गर्न सक्नुपर्छ । त्यसमा चाहिने रिभिजनहरुलाई प्राथमिकतामा राखेर अगाडि बढ्ने हो भने हाम्रो जीत निश्चित छ । खासमा म चाहन्छु, हामीले प्रत्येक अवसरलाई आफ्नो जितमा बदल्न सक्नु पर्छ । हिजो एकअर्काका ठूला दुश्मन भनेर चिनिएका उत्तर कोरिया र दक्षिण कोरियाले पनि अहिले बुझिसकेका छन्, शत्रुताले विकास गर्न सक्दैन । विकासका लागि एकआपसी सहयोग चाहिन्छ, एकअर्कालाई सहयोग गर्नु पर्ने हुन्छ । त्यसैले, उत्तर कोरिया र दक्षिण कोरिया अब एकअर्काको भूमिमा पाइला राख्दै छन्, नयाँ परिवेशमा आफूहरूलाई अगाडि बदल्दै छन् ।

तर, हामी के फेरि पछाडि फर्किन खोज्दै छौँ ?

अहिले जसरी देशभक्तको कुरा डिफाइन गरिएको छ, त्यो गलत छ । देशभक्ति भनेको वा राष्ट्रवाद भनेको अरूको विरोध होइन । विरोध गर्दैमा हामीले आफूलाई राष्ट्रवादी प्रमाणित गर्न पनि सक्दैनौँ । राष्ट्रवाद वा देशभक्तको वकालत गर्नका लागि हामीले देशमा भएका उद्योग, कलकारखाना तथा हाम्रा उत्पादनको सहयोग गर्नु पर्ने हुन्छ ।

हाम्रो उत्पादन के हुन्छ, के हामीले उत्पादन गरिरहेका छौँ, हाम्रोमा कति कलकारखाना छन्, हामी औद्योगिक मोडल कस्तो छ, वैदेशिक सहयोगलाई हामीले कस्ता उत्पादनशील कुरामा लगानी गरिरहेका छौँ ? यस्ता प्रश्नमा हामीले जहिलेदेखि सोच्न थाल्छौँ, तबमात्र हामीले राष्ट्रवाद वा देशभक्तको विषयमा चर्चा गर्न सक्छौँ । आफ्नो सामान केही नहुने तर भारत वा अर्को छिमेकीलाई गाली गर्नु राष्ट्रवाद कदापि होइन ।