पु.समाचार

खानेपानी आपूर्तिमा समस्याः दुईलाख जनता प्रभावित

काठमाडौँ । काठमाडौँ महानगरपालिका– १४, बल्खुमा सडक विस्तारका क्रममा खानेपानी पाइप बिग्रँदा काठमाडौँका अधिकांश स्थानमा खानेपानी आपूर्ति प्रभावित भएको छ ।

करीब एकसाता अगाडि त्यस क्षेत्रमा सडक विस्तार गर्ने क्रममा उक्त पाइपमा समस्या आएर बल्खु, कुलेश्वर, कालीमाटी, भीमसेनस्थान, कलंकी, बाफललगायत स्थानमा पिउने पानी उपलब्ध हुन सकेको छैन ।

खानेपानी संस्थानले विगतमा सुन्दरीघाटमा गरेको बोरिङबाट आउने पानीलाई ट्यांकीमा संकलन गरी पानी वितरण गरिँदै आएकामा त्यहाँ भएको समस्याका कारण करीब दुईलाख मानिस प्रभावित भएका छन् ।

चीन सरकारले चक्रपथको कलंकीदेखि कोटेश्वरसम्म गर्न लागेको सडक विस्तारका क्रममा त्यस क्षेत्रको पाइप बिग्रिएको भए पनि त्यसलाई सुरक्षाकर्मी, खानेपानी संस्थानलगायतले राति समन्वय गरी पाइप मिलाउने कार्यसमेत भइरहेको महानगरीय प्रहरी प्रभाग, बल्खुका प्रमुख अरुण चौधरीले जानकारी दिए ।

स्थानीय कुमारी क्लबका अध्यक्ष मोहनकुमार बस्नेतले पूर्वाधार विकासका क्रममा केही स्थानीय समस्या आएपनि त्यसलाई आपसी समन्वय र सहकार्यबाट समाधान खोज्नुपर्ने बताउँदै खानेपानी चाँडो आपूर्ति गर्न सरकारलाई आग्रह गरे ।