देश

मास्तीघाट र खहरेका ८४ घरपरिवार टुकीका भरमा

दमौली, तनहुँ । तनहुँको व्यास नगरपालिका–१४ स्थित मास्तीघाट र बन्दीपुर गाउँपालिका–६ खहरेटारका गरी ८४ घरधुरीका बासिन्दा अहिलेसम्म पनि टुकीको भरमा रात गुजार्न बाध्य भएका छन् ।

राजनीतिक पहुँच नहुँदा त्यहाँका बासिन्दा टुकीको भरमा रात गुजार्न बाध्य भएका हुन् । अहिले पनि मास्तीघाटका ५२ घर परिवारले टुकीका भरमा रात गुजारीरहेको स्थानीय समाजसेवी गुमबहादुर मल्लले बताए ।

हुनेखाने केहीले घरमा सोलार जोडे पनि अधिकांश व्यक्ति मैनबत्ती र मट्टितेलकै बत्ती बालेर रात काट्न बाध्य भएको जानकारी उनले दिए । मास्तीघाटकै हेमबहादुर गुरुङले सदरमुकाम दमौली बजारदेखि १६ किमीको दूरीमा रहेको उक्त ठाउँमा बिजुली नपुग्नु दुर्भाग्य भएको बताए ।

त्यस्तै, बन्दीपुर गाउँपालिका–६ खहरेका ३२ घरधुरीसमेत अन्धकारमा रात काट्न बाध्य हुँदै आएका बताइएको छ । बिजुली नपुगेका कारण त्यस क्षेत्रका बासिन्दा सूचनाबाट समेत वञ्चित हुँदै आएका छन् । बन्दीपुर गाउँपालिकाकी उपाध्यक्ष करुणा गुरुङले विद्युतीकरण नपुगेका गाउँगाउँमा बजेटमा प्राथमिकता दिई बिजुली पु¥याउने लक्ष्य आफूहरुको रहेको बताए ।

मिलीजुली मास्ती टोल विकास संस्थाका अध्यक्ष यामबहादुर थापाले पटकपटक विद्युतीकरणका लागि आवाज उठाए पनि पाउन नसकेको जानकारी दिए । व्यास नपा–१४ का अध्यक्ष काजीमान श्रेष्ठले मास्तीघाट वरपरको क्षेत्रमा एक वर्षभित्रमा बिजुली पु¥याउने बताए ।

नयाँगाउँमा रहेको ट्रान्सफर्मरबाट मास्तीमा बिजुली पु¥याउने लक्ष्य आफ्नो रहेपनि विद्युत् कार्यालयले नै त्यस क्षेत्रमा विद्युत् विस्तार गर्ने जनाएपछि ढिलाइ भएको श्रेष्ठले बताए ।