समाचार

प्रदेश सभासदस्यको लोगो सार्वजनिक

बुटवल । प्रदेश नं ५ का प्रदेशसभासद्को पहिचान गराउने प्रदेश चिह्न (लोगो) आज सार्वजनिक गरिएको छ ।
प्रदेशसभाका सभामुख पूर्णबहादुर घर्तीले यहाँ आयोजित कार्यक्रममा सो लोगो सार्वजनिक गरेका हुन् । उक्त लोगो बनाउन २०७४ फागुन २४ गते सार्वजनिक सञ्चारमाध्यममार्फत नमूना आह्वान गरिएकामा १२ जनाले सहभागिता जनाएका थिए । सहभागीमध्ये दाङका खगेश्वर भण्डारीले तयार पार्नुभएको नमूना छनोटमा परेको हो ।
लोगोमा प्रदेश नं ५ को हिमाली क्षेत्र सिस्ने हिमाल, गौतमबुद्धको जन्मस्थल लुम्बिनी, धान र जौका बालाका साथै लैङ्गिक समानता झल्किन्छ ।

प्रदेशसभा सचिवालयले आयोजना गरेको सो कार्यक्रममा सो लोगोसहित प्रदेशसभा कर्मचारीको लोगो, प्रदेशसभा नियमावली तथा प्रदेशसभा सदस्यहरुको विवरणसहितको पुस्तक, प्रदेशसभाको आधिकारिक वेबसाइटसमेत सार्वजनिक गरिएको छ ।

त्यस अवसरमा प्रदेशसभाको लोगो निर्माणकर्ता भण्डारीलाई उपसभामुख कृष्णी चौधरीले सम्मान गरे ।

प्रदेशसभा सञ्चालनका तथा व्यवस्थापनका लागि प्रदेशसभाबाट सर्वसम्मतिले पारित भएको प्रदेशसभा नियमावली २०७४ सहित प्रदेशसभाका विविध विषय समेटिएको पुस्तक लोकार्पण गरिएको थियो ।

सभामुख घर्तीले प्रदेशसभाको पहिचान झल्काउन लोगो महत्वपूर्ण भएको र यसले प्रदेशका महत्वपूर्ण क्षेत्रलाई झल्काउने बताए ।

यस्तै प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद केसीले प्रदेशसभामा छोटो समयमा यो महत्वपूर्ण र ऐतिहासिक काम भएको बताए ।