देश

प्रतिनिधिसभामा चार अध्यादेश प्रस्तुत

काठमाडौँ । प्रतिनिधिसभा बैठकमा विभिन्न चार अध्यादेश प्रस्तुत गरिएको छ ।

संघीय संसदको आजदेखि शुरु भएको दोस्रो अधिवेशनको बैठकमा गृहमन्त्री रामबहादुर थापाको तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले ‘राष्ट्रियसभा सदस्य निर्वाचन अध्यादेश, २०७५’ र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले ‘राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश, २०७५’ प्रस्तुत गरे ।

त्यस्तै, कानुन मन्त्री तामाङले ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग पहिलो संशोधन अध्यादेश, २०७५’ र ‘संघीय संसदका महासचिव, प्रतिनिधिसभाका सचिव र राष्ट्रियसभाका सचिवको पारिश्रमिक, सेवाको शर्त र सुविधासम्बन्धी अध्यादेश, २०७५’ पेश गरेका थिए ।

बैठकमा प्रतिनिधिसभा नियमावली मस्यौदा समितिका सभापति कृष्णभक्त पोखरेलले ‘प्रतिनिधिसभा नियमावली समितिको प्रतिवेदन, २०७५’ प्रस्तुत गर्नुभएको थियो । साथै, उहाँले राख्नुभएको नियमावली मस्यौदा समितिको म्याद थपसम्बन्धी प्रस्ताव बैठकले सर्वसम्मतिले पारित गरेको छ ।

बैठकले सभामुख र उपभामुखको अनुपस्थितिमा बैठक सञ्चालनका लागि अध्यक्षता गर्न खगराज अधिकारीको सट्टामा राधा ज्ञवालीलाई राख्ने प्रस्ताव पारित गरेको छ । अधिकारी नेकपा (एमाले) संसदीय दलको प्रमुख सचेतक हुन् ।

बैठकमा सभामुख कृष्णबहादुर महराले राष्ट्रपतिबाट अधिवेशन आह्वानसम्बन्धी प्राप्त पत्रको ब्यहोरा पढेर सुनाउनुभएको थियो भने द्वितीय अधिवेशनको आजको पहिलो बैठकमा शहीदको सम्झनामा मौनधारण गरिएको थियो ।