अन्तर्राष्ट्रिय

ट्रम्पको बन्दुक सम्बन्धी भनाइप्रति कड्कियो फ्रान्स

पेरिस । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले हालै पेरिसका बारेमा गर्नुभएको एक टिप्पणीप्रति फ्रान्सले विरोध जनाएको छ ।

अमेरिकी राष्ट्रपति ट्रम्पले गत शुक्रबार टेक्सासमा आयोजित एक सभालाई सम्बोधन गर्दै नागरिकलाई बन्दुक राख्न दिएको भए सन् २०१५ मा पेरसमा भएको बन्दुक हमला हुन सक्दैनथ्यो भनी टिप्पणी गरेका थिए ।

उनले यदि फ्रान्सेली नागरिकसँग पनि बन्दुक राख्न पाउने अधिकार भइदिएको भए पेरिसमा भएको आतंककारी हमलाबाट त्यतिधेरै क्षति नहुने आशयको भनाई राखेका थिए ।

राष्ट्रपति ट्रम्पको यो भनाइप्रति फ्रान्सले विरोध जनाएको प्राप्त समाचारमा जनाइएको छ ।

राष्ट्रपति ट्रम्पले राख्नुभएको उक्त धारणा फ्रान्सेली शान्तिप्रेमी जनताको पक्षमा नदेखिएको फ्रान्सको विदेश मन्त्रालयले जनाएको हो । राष्ट्रपति ट्रम्पको यो धारणाप्रति उक्त मन्त्रालयले आपत्ति पनि जनाएको समाचारमा जनाइएको छ ।

उहाँको उक्त दावीको खण्डन गर्दै उक्त मन्त्रालयले पीडितहरूको सम्झनाको सम्मान गर्न पनि भनेको छ । शुक्रवार टेक्ससमा आयोजना गरिएको राइफल एशोसियसनको सभालाई सम्बोधन गर्ने क्रममा ट्रम्पले सो धारणा राखेका थिए ।

राष्ट्रपति ट्रम्पले पेरिसको सांगीतिक कार्यक्रम हलमा कामगर्ने कुनै कर्मचारीसँग त्यो राति बन्दुक भइदिएको भए बन्दुकधारीहरू भाग्थे या मारिन पनि सक्थे भनेर उनले सो सभामा आफ्नो धारणा राखेका थिए ।

उक्त सम्बोधनका क्रममा राष्ट्रपति ट्रम्पले पेरिसका हमलाकारीहरुले एक एक जनालाई छानेर गोली हानेको र पीडितहरु कसैले पनि आफ्नो अवस्थाको सुरक्षागर्न असमर्थ रहेको बताएका थिए ।
उनले गरेको बन्दुकप्रतिको यो टिप्पणीले यहाँका नागरिकलाई न्याय नगरेको विदेश मन्त्रालयलको भनाई छ । त्यसो त उनले गर्ने गरेका बन्दुकसम्बन्धी टिप्पणीको अमेरिकाभित्रै पनि बिरोध हुने गरेको छ ।

अमेरिकामा पनि समय समयमा बन्दुक नियन्त्रणका लागि तथा बन्दुक राख्न पाउने कानूनमा कडाइ गर्न मागगर्दै जुलुश निकाल्ने गरिएको छ ।

नागरिकसँग बन्दुक नरहेको मौका छोपेर आतंककारीहरुको एउटा सानो समूहले नै पेरिसका ठूलो संख्याका सर्वसाधारणको हत्या गरेको उनले बताएका थिए ।

उक्त सभामा उनले भने– तपाईहरुले पनि ख्याल गर्नुभयो होला नि निकै थोरैको संख्यामा रहेका आतंकारीहरुको समूहले पेरिसमा १३० जनाको हत्या गरेका छन्, उनीहरुले समय लिएरै र निहत्था नागरिकलाई नियन्त्रणमा लिएर हत्या गरेका थिए ।

राष्ट्रपति ट्रम्पले भने म यो कुरामा निश्चित छु कि पेरसका नागरिकसँग पनि बन्दुक भइदिएको भए यति धेरै संख्यामा त्यहाँ नागरिकको ज्यान जाने नै थिएन । -रासस÷एएफपी