खेलकुद

काँग्रेसका शेर्पा पुरा टिमसहित एन्फाको अध्यक्षमा यसरी भए निर्बाचित (बधाई)

काठमाडौं । कर्मा छिरिङ शेर्पा अखिल नेपाल फुटबल संघ (एन्फा) को अध्यक्षमा निर्वाचित भएका छन् । शनिबार भएको एन्फा निर्वाचनमा ७७ मध्ये शेर्पाले ६३ मत प्राप्त गर्दै शेर्पा विजयी भएका थिए । साधारण सभा वहिष्कार गरेका अर्का प्रत्यासी मणी कुँवरले १२ मत प्राप्त गरे । १ मत बदर भएको थियो । एन्फा निर्वाचनबाट ४ उपाध्ययक्षसहित ११ सदस्यमा पनि शेर्पाकै प्यानल विजयी भएको छ । महिला सदस्यमा पेमा लामा यसअघि नै पेमा लामा निर्विरोध निर्विचित भइसकेकी छिन् ।

ललितपुरस्थित हेरिटेज गार्डेनमा शनिबार १६ औं एन्फाको अधिवेशनमा कर्मा छिरिङ शेर्पा दोस्रो पटकको प्रयासमा अध्यक्ष पदमा विजयी भएका हुन् । अध्यक्षका प्रत्यासी शेर्पाले चुनावमा भाग नलिएका मणि कुँवरलाई मतले पछि पारे । उपाध्यक्षमा शेर्पा प्यानलकै पंकज नेम्बाङ (६१), उपेन्द्रमान सिंह (५८), कृष्ण थापा (५२) र वीरबहादुर खड्का (३९) मतका साथ विजयी भएका छन् ।

उपाध्यक्षका अन्य उम्मेदवार विराटजंग शाहीले ३३, सुनिल शम्सेर राणाले २४, मोहम्मद समिउल्लाहले १५, गणेश चन्दले ५ मत प्राप्त गरेका थिए । निर्वाचन अघिनै उम्मेदवारी छाडेको घोषणा गरेका किशोर राईले मत प्राप्त गरेनन् । उपाध्यक्ष पदमा २ मत बदर भएको थियो ।

यस्तै सदस्य पदमा कर्मा छिरिङ शेर्पा प्यानलले क्लिन स्विप गरेको छ । सदस्यमा दावा लामा (५६), पूर्णमान चित्रकार (५५), दिनेश व्यन्जनकार (५५), दीर्घ बहादुर केसी (५५), विजय घले (५३), निरोज खड्गी (५२), किरण राई (५०), मधुसुदन उपाध्यय, प्रदेश सिंह राठौंर र रत्न कुमार श्रेष्ठले समान ४८ मत पाए । रविन्द्रमान श्रेष्ठ ४२ मत सहित विजयी भए ।

कुल ७७ भोटमध्ये ७६ मत खसेको थियो । जसमध्ये दुई मत बदर भएको थियो । ११ जना सदस्यको लागि २९ जनाको उम्मेदवारी परेको थियो । महिला सदस्यको रुपमा यसअघि नै पेमा लामा निर्विरोध निर्वाचित भैसेकी थिईन् ।

एन्फा निर्वाचनका लागि ४५ जिल्ला, १४ ‘ए’ डिभिजन क्लब, ९ ‘बी’ डिभिजन क्लब, ४ ‘सी’ डिभिजन क्लब र एन्फा अन्र्तगतको ४ कमिटि गरी कुल ७७ मत रहेको थियो ।
शेर्पा दोस्रो प्रयासमा एन्फा अध्यक्ष बन्न सफल भएका हुन् । पूर्व अध्यक्ष गणेश थापालाई फिफाले १० बर्षको प्रतिबन्ध लगाएसँगै गत वर्ष बाँकी अवधिका लागि अध्यक्ष र रिक्त रहेको उपाध्यक्षमा निर्वाचन भएको थियो । जसमा शेर्पा निवर्तमान अध्यक्ष नरेन्द्र श्रेष्ठसँग पराजित भएका थिए । गत वर्ष उपाध्यक्षमा निर्वाचित मणी कुँवरले यसपटक अध्यक्षमा उम्मेदवारी दिएपछि विधान विधान विपरित निर्वाचन हुन लागेको भन्दै साधारण सभा वहिष्कार गरेका थिए ।

ए डिभिजन क्लब हिर्मालन शेर्पा क्लबका अध्यक्ष समेत रहेका शेर्पा पूर्व अध्यक्ष थापाको नेतृत्वमा लामो समय एन्फा उपाध्यक्षमा रहेर काम गरेका थिए । हाम्रो खेलकुदका अनुसार, २०७० मा थापा पुनः अध्यक्षमा निर्वाचित हुँदा शेर्पा उपाध्यक्ष निर्वाचित भएका थिए ।

केहि वर्षपछि शेर्पाले थापा र एन्फाका विरुद्धमा आन्दोलनका नेतृत्व गरेका थिए । त्यहि बीचमा भ्रष्टाचारको अभियोगमा थापालाई फिफाले प्रतिबन्ध लगाएको थियो । कांग्रेसका शेर्पा सुरुमा राजनीतिक पहुचका आधारमा फुटबलमा प्रवेश गरेपनि पछि उनले हिमालयन शेर्पा क्लब स्थापना गर्दै छनोटदेखि ए डिभिजनसम्म पुर्याएका थिए ।