आर्थिक

काँग्रेससहितका प्रतिपक्षद्वारा प्रदेशसभा अवरुद्ध

पोखरा । प्रदेश नं ४ मा प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेस र प्रतिपक्षी नयाँ शक्ति पार्टीले शुक्रबार प्रदेशसभा अवरुद्ध गरेका छन् ।

बैठकको शुरुआतमा नै प्रतिपक्षी दलका सदस्य आआफ्ना स्थानबाट उठेर विरोध जनाएपछि सभामुख नेत्रनाथ अधिकारीले बोल्न समय दिएपछि नेपाली काँग्रेसका तर्फबाट प्रदेशसभा सदस्य कुमार खड्काले रातो किताबमा सरकारको वार्षिक कार्यक्रम हेर्दा बजेटले प्रदेशलाई उन्नतिभन्दा पनि आर्थिक अनियमितताको बाटामा लैजाने देखिएको बताए ।

सानो समयको सानो रकमको बजेटका लागि दु्रतमार्गबाट जानुपर्छ भन्ने सत्तापक्षको आग्रहलाई मान्दै नियम निलम्बन गर्न सहयोग गर्दै बजेट ल्याइए पनि सरकारले ल्याएको बजेटमा रातो किताबमा केही गम्भीर त्रुटि देखिएको उनले बताए ।

संसद् अवरुद्ध गरेपछि पत्रकारसँगको भेटमा काँग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले ‘सरकारले आर्थिक अनियमिततालाई प्रश्रय दिने किसिमले रातो किताबमा विभिन्न शीर्षकमा मनोमानी तवरले बजेट विनियोजन गरेकाले’ प्रदेशसभा अवरुद्ध गर्नुपरेको बताए । नयाँ शक्तिका हरिशरण आचार्यले प्रदेशसभाको शुरुआतदेखि नै सत्तापक्ष गैरजिम्मेवार भइरहने र प्रतिपक्ष जिम्मेवार हुनुपर्ने अवस्थाबाट गुज्रिरहेको बताए ।

संसदीय प्रक्रिया विपरीतः सरकार

प्रदेशसभालाई प्रतिपक्षले अवरुद्ध गरेसँगै सरकारले आजै पत्रकार सम्मेलन गरी प्रतिपक्ष गैरजिम्मेवार रुपमा प्रस्तुत भएको बताएको छ । आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले कार्यव्यवस्था परामर्श समितिमा कुनै विवाद नभई कार्यसूची तय भइसकेका अवस्थामा संसदीय अभ्यासविपरीत प्रतिपक्षले प्रदेशसभा अवरुद्ध गरेको बताए ।

सरकारले अत्यन्त जिम्मेवारपूर्ण तवरले रातो किताबमा बजेट विनियोजन गरेको बताउँदै उहाँले प्रतिपक्षले लगाएको आरोप निराधार भएको बताए । विनियोजित रकम खरिद ऐनअन्तर्गत खर्च हुने र खर्च हुन नसकेको रकम सञ्चित कोषमा जम्मा हुने भएको बताउँदै उनले प्रदेशसभामा खर्च कटौतीको प्रस्ताव गर्न पाउने बाटो हुँदाहुँदै पनि एकाएक प्रतिपक्षले गरेको व्यवहार असह्य भएको बताए । सरकारका प्रवक्ता रामशरण बस्नेतले रातो किताबको हवाला दिँदै प्रतिपक्षले देखाएको गतिविधि संसदीय पद्धति र प्रक्रियाविरुद्ध भएको धारणा राखे ।

आजको बैठकका लागि प्रदेश विनियोजन विधेयक, २०७५ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने, त्यसलाई छलफल तथा पारित गर्ने, प्रदेश राजधानी तथा नामांकन समितिको म्याद थप गरियोस् भन्ने प्रस्ताव प्रस्तुत तथा समर्थन गर्ने र स्थानीय तहको सभा सञ्चालनसम्बन्धी (कार्यविधि) विधेयकको विधायन समितिको प्रतिवेदन पेश गर्ने कार्यसूची थियो । प्रदेशसभाको अर्को बैठक यही वैशाख २३ गते अपराह्न १ बजे बस्नेछ ।