पु.समाचार

रु २५करोडको टोखा गुरुयोजना

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले छिमेकी नगरपालिकासँग सहकार्य गरिने बताएका छन् ।

टोखा नगरपालिकाले आज यहाँ आयोजना गरेको ‘बौडेश्वर झरनाको गुरुयोजना सार्वजनिक’ कार्यक्रममा शाक्यले अन्तरनगर साझेदारी कार्यक्रमअन्तर्गत टोखा नगरपालिकालाई रु एक करोड दिइने घोषणा गरे ।

टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले धार्मिक र ऐतिहासिक टोखा नगरपालिकालाई विकासको दृष्टिकोणले पनि सम्पन्न बनाउन आफू प्रतिबद्ध रहेको बताए । तारकेश्वर नगरपालिका प्रमुख रामेश्वर बोहोराले आफू पनि मिलेर काम गर्न इच्छुक रहेको जानकारी दिए ।

टोखा नगरपालिकामा रहेको ऐतिहासिक सम्पदाको संरक्षण र विकासका लागि रु २५ करोडको गुरुयोजना तयार गरिएको छ । त्यसमा मुख्यगरी बालमैत्री उद्यान, झोलुङ्गेपुल र मन्दिरहरुको पुनः निर्माण तथा नगरपालिकाको वडा नं १ मा पर्ने बौडेश्वर झरनाको सौन्दर्य वृद्धि जस्ता काम प्राथमिकतामा पर्नेछन् ।