खेलकुद

योग खेलको प्रवर्धनमा जोड दिइनेः मन्त्री विश्वकर्मा

पोखरा । युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले शदियौँदेखि नै नेपालको पहिचान बनाउँदै आएको योग खेलको प्रवद्र्धनमा सरकारले जोड दिने बताएका छन् ।

नेपाल योग खेलकूद संघको आयोजनामा ‘दोस्रो दक्षिण एशियाली योग खेलकूद च्याम्पियनशिप तथा प्रथम माउन्ट एभेरेष्ट अन्तर्राष्ट्रिय योग महोत्सव’ को आज पोखरामा उद्घाटन गर्दै उहाँले हिमालको काखमा ऋषि महर्षिले गरेको योग र ध्यानको कारण नै नेपाल विश्वसामु चिनिएको उल्लेख गरे ।

स्वस्थ जीवनका लागि पनि योग खेलको विकास अपरिहार्य रहेको बताउँदै उनले खेलकूद प्रतियोगताले देश र खेलाडी बीचको सम्बन्धलाई प्रगाढ बनाउने विश्वास व्यक्त गरे ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार विष्टले पोखरालाई खेलकूद शहरका रुपमा चिनाउन पूर्वाधार विकासमा जोड दिइएको बताउँदै नेपालमा जन्मिएको योग खेलको विकासमा थप कार्यक्रम सञ्चालन गर्नुपर्ने विचार व्यक्त गरे ।

नेपाल योग खेलकुद संघका अध्यक्ष प्रा डा सूर्यबहादुर कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा विदेशी प्रतिनिधि आयरल्याण्डकी मरियम मोलिगान, भारतका उमंग द्वान, नेपाल योग खेलकूद संघका महासचिव चुडामणि खरेल लागायतले योग खेलको महत्व र सम्भावनाका बारेमा चर्चा गरेका थिए ।

वैशाख २३ गतेसम्म सञ्चालन हुने सो प्रतियोगितामा नेपाललगायत भारत, अफगानिस्तान, पाकिस्तान, बंगलादेशका करीब २७५ महिला तथा पुरुष खेलाडीको सहभागिता रहेको छ ।


दशौं कास्की जिल्लास्तरीय राष्ट्रपति कप शुरु

त्यसैगरी मन्त्री जगतबहादुर विश्वकर्माले नेपालमा खेलाडी उत्पादन गर्न विद्यालयको विशिष्ट योगदान गरेको बताउनु भएको छ ।

कास्की जिल्ला स्तरिय १०औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आज पोखरा रंगशालामा उद्घाटन गर्दै उहाँले नेपालको खेलको समृद्धिका लागि मन्त्रालय योजनाबद्ध तरिकाले अगाडि बढेको जानकारी दिए । २०१९ को मार्चमा नेपालमा आयोजना हुने १३औँ दक्षिण एशियाली खेलकूद समयमा गर्र्ने गरी पूर्वाधार विकासमा ध्यान दिइएको बताउँदै मन्त्री विश्वकर्माले खेलकूदको माध्यमबाट राज्यले आर्थिक प्रगति गर्न सक्ने बताए ।
वैशाख २३ गतेसम्म सञ्चालन हुने सो प्रतियोगितामा कास्की जिल्लाका ७१ विद्यालयका करीब दुई हजार विद्यार्थीको सहभागी हुँदैछन् ।