साहित्य

दुर्गाको ‘नचुमेको क्षितिज’ विमोचन

काठमाडौँ । महिला साहित्यकार दुर्गा तिवारीको ‘नचुमेको क्षितिज’ नामक गद्य तथा गीति कविता संग्रह आजदेखि बजारमा आएको छ ।

विभिन्न ७४ वटा फुट्कर कविता संकलन गरिएको त्यस पुस्तकमा कविले नारी पीडा, उत्साह, कथा तथा व्यथा समेटिएको बताइएको छ । सो कविता संग्रहको विमोचन गर्दै साहित्यकार रमेश खकुरेलले नेपाली साहित्यजगत्मा थुप्रै कथा, कविताजस्ता साहित्य भए पनि पाठकको आकर्षण गर्ने खालको कृति औँलामा गन्न सकिने मात्र रहेको छ भने ।

उनले लय, भाव तथा शृंगारले भरिपूर्ण साहित्य मात्र पाठकको जिब्रोमा जीवित रहने बताए । समीक्षक प्रभा भट्टराईले देश, समाज तथा गाउँलेको जीवनमा आधारित भएर कविता लेख्न साहित्यकारलाई सल्लाह दिए ।

नेपाली शिक्षा परिषद्का सदस्यसचिव रमादेवी शर्मा, साहित्यकार ज्ञानुवाकर पौडेल, साहित्यकार मदनदास थापा लगायतका वक्ताले नेपाली साहित्य सिर्जनामा साहित्यकारले भोग्नु परेको पीडा बारे प्रकाश पारे ।