शिक्षा

छात्रवृत्ति पाउँदा उत्साहित छन् गरीब विद्यार्थी

काठमाडौँ । विश्व निकेतन कलेज, त्रिपुरेश्वरमा कक्षा ११ मा अध्ययनरत मनिता नेपालीलाई छात्रवृत्ति पाएपछि खुशीको अनुभूति भएको छ ।

विज्ञान विषय लिएर अध्ययन गर्दै गरेकी मनितालाई घरको आर्थिक अवस्था कमजोर भएका कारण पढाइमा समस्या आउने होकि भन्ने चिन्ताले सधैँ सताइरहेको थियो । तर, दलित महिला उत्थान संघ(एड्वान) ले कक्षा ११ र १२ का लागि छात्रवृत्ति प्रदान गरेपछि भने मनिता खुशीले गद्गद् छिन् ।

मेरो घरको आर्थिक अवस्था अत्यन्त कमजोर छ, भविष्यमा डाक्टर बन्ने उद्देश्य राखेकी मनिताले उत्साही हुँदै भने,– “यो छात्रवृत्ति पाएपछि झन् पढ्न मन लागेको छ, पढ्ने हौसला बढेको छ ।” मनितालाई मात्र होइन, एड्वानले छात्रवृत्ति प्रदान गरेपछि मनमोहन मेमोरियल कलेज, सोह्रखुट्टेमा कक्षा ११ मा शिक्षा विषय लिएर अध्ययन गर्दै गरेकी विनिषा परियारलाई पनि पढ्ने जाँगर चलेको छ ।

घरको आर्थिक अवस्था कमजोर भएकी गोरखाकी विनिषाले भने,–“काठमाडौँमा पढाइसँगै बस्न र खानसमेत समस्या भएको थियो तर एड्वानले पढ्नका लागि छात्रवृत्ति प्रदान गरेपछि पढाइमा सहयोग पुगेको छ ।”

विसं २०५५ मा स्थापना भएको एड्वानले मनिता र विनिषालाई मात्र होइन, आर्थिक अवस्था कमजोर भएका हजारौँ गरीब समुदायका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्दै आएको छ । एड्वानकै छात्रवृत्ति पाएकी गोरखाकी सजिता परियार अहिले धादिङमा परिचारिकाको रुपमा कार्यरत छन्। त्यसैगरी, छात्रवृत्ति पाउने गोरखाकी लक्ष्मी काप्री पनि पढाइ सकेर जागिरको सिलसिलामा छन् ।

एड्वानकै छात्रवृत्ति पाएर बिबिएस पढाइ सकेकी बागलुङकी प्रिया किसानले एड्वानकै कारण आफूले पढाइ सक्न सफल भएको बताउँदै एड्वानलाई धन्यवाद दिए । यो वर्ष मात्रै एड्वानले कक्षा ११ र १२ का अति गरीब, जेहेन्दार, दलित तथा उत्पीडनमा पारिएका समुदायका १०० जना विद्यार्थीलाई पूर्ण छात्रवृत्ति प्रदान गर्ने भएको छ ।

तीमध्ये चारजना अतिगरीब विद्यार्थीलाई प्रदान गरिसकिएको छ भने २० जनालाई प्रदान गर्ने सुनिश्चित भएको छ । बाँकीका लागि आवेदन माग गरिएको छ । बिहीबार एड्वानले छात्रवृत्ति पाएर सफल भएका विद्यार्थी र भर्खरै छात्रवृत्ति पाएका विद्यार्थीलाई सम्मानसमेत गरेको छ ।

सोही अवसरमा सम्मान तथा छात्रवृत्ति प्रदान गर्दै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले करीब तीन लाख बालबालिका विद्यालय बाहिर रहेको सन्दर्भमा एड्वानले छात्रवृत्ति प्रदान गरेर विद्यार्थीलाई पढाइमा आकर्षित गर्नु आफैँमा सकारात्मक काम हो भने ।

यस संस्थाले २०५९ सालदेखि २०६८ सालसम्म विद्यालय पोशाक वितरण कार्यक्रम समेत सञ्चालन गरेको थियो । कार्यक्रममार्पmत गोरखा, बागलुङ, अर्घाखाँची, चितवन, मुगु, झापा र इलामका १५ हजार ६७३ छात्रछात्रा लाभान्वित भएका थिए । अहिले नयाँ दर्ता हुन आएका समूहका बालबालिकालाई पनि तीन वर्षसम्म प्रदान गर्दै आएको छ ।

एड्वानले शुरुदेखि नै गरीब विद्यार्थीलाई अध्ययनका लागि छात्रवृत्ति प्रदान गर्नुका साथै ग्रामीण क्षेत्रका दलित, महिला, सीमान्तकृत तथा अतिविपन्न समुदायमा आयआर्जनमूूलक सीपसमेत सिकाउँदै आएको संस्थापक अध्यक्ष तथा संरक्षक डा विष्णुमाया परियारले राससलाई जानकारी दिए ।

एड्वानले सीप मात्रै सिकाउँदैन, सीप सिकाइसकेपछि व्यापार÷व्यावसाय गर्नका लागि ऋणसमेत उपलब्ध गराउँदै आएको छ । राज्यको मूलधारबाट पछाडि पारिएको गरीब, दलित महिलालगायत अति सीमान्तकृत सुमदायलाई शैक्षिक, आर्थिक, सामाजिक, सांस्कृतिक र राजनीतिक रुपमा सशक्त बनाउनु एड्वानको मुख्य उद्देश्य रहेको छ ।

“एड्वानले यो देशमा शैक्षिक समानताका लागि खासगरी अतिगरीब विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्दै आएको छ, आगामी दिनमा समेत यसलाई अझै सक्रियताका साथ निरन्तरता दिने योजना रहेको छ,”– अध्यक्ष पम्फा परियारले भने ।

छात्रवृत्तिलगायत अन्य कार्यक्रमलाई देशैभरि विस्तार गर्ने अध्यक्ष परियारको भनाइ छ । एड्वानले गरीब, दलित तथा उत्पीडित समुदायको अधिकारका लागि समेत निरन्तर पैरवी गर्दै आएको महासचिव विन्दु परियारले जानकारी दिए ।