अन्तर्राष्ट्रिय

ट्रम्पद्वारा कोरियाली सीमा क्षेत्र नै शिखर सम्मेलनका लागि प्रस्ताव

वासिङ्टन, संयुक्त राज्य अमेरिका । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जङ–अनसँग हुने भनिएको शिखर वार्ता कोरियाली सीमाक्षेत्रमा नै गर्न सकिनेतर्फ सोमबार सङ्केत गरेका छन् ।

ट्रम्पले ट्वीटरमा लेखेका छन्, “बैठकका लागि कैयौँ मुलुकहरू उचित भनी व्यक्त भएका छन् । तर तेस्रो मुलुकभन्दा उत्तर र दक्षिण कोरियाको सीमास्थित शान्ति /स्वतन्त्रता गृह नै शान्ति र स्थायित्वका लागि धेरै प्रतिनिधिमुलक हुन सक्दैन र ?”

उत्तर कोरिया र दक्षिण कोरियाको सैन्य निषेधित क्षेत्र तथा सिमानामा रहेको कोरियाली युद्धविरामस्थल पानमुनजोममा रहेको शान्ति गृहमा गत शुक्रबार नेता किम र दक्षिण कोरियाली राष्ट्रपति मुन जाइ–इनबीच ऐतिहासिक शिखर सम्मेलन भएको थियो ।

दुई कोरियाबीच सन् १९५३ मा युद्धविराम भएदेखि नेता किम दक्षिण कोरियाली भूमिमा पाइला टेक्ने पहिलो कोरियाली नेता हुहुन् । नेता किमले दक्षिण कोरियाली राष्ट्रपति मुनसँगै सिमानाको दक्षिणी भागबाट शान्ति गृहमा प्रवेश गरे्का थिए ।

कोरियाली प्रायदीपलाई पूर्णरूपमा आणविक निशस्त्रीकरण गर्न कोरियाली प्रतिवद्धताका लागि अमेरिकी राष्ट्रपति ट्रम्प र किमबीचको शिखर सम्मेलनको तयारी भइरहेको छ । सोलका अनुसार उत्तर कोरियाले आफ्ना आणविक हतियार परीक्षणस्थललाई केही हप्ताभित्रमा बन्द गर्ने र यसको पुष्टिका लागि अमेरिकी विज्ञलाई निमन्त्रणा गर्ने वाचा गरेको छ ।

यदि संयुक्त राज्य अमेरिकाले उत्तर कोरियाविरूद्ध घुसपैठ नगर्ने वाचा गर्ने हो भने प्योङयाङलाई आणविक हतियारको आवश्यकता नरहने नेता किमले मुनसँगको कुराकानीमा बताएका दक्षिण कोरियाली अधिकारीले बताएका छन् ।