राजनीति

विकास र समृद्धि नै पहिलो प्राथमिकताः अध्यक्ष दाहाल

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले मुलुकमा राजनीतिक स्थिरता कायम भएको हुँदा अब विकास र समृद्धि नै पहिलो प्राथमिकता भएको बताएका छन्।

नेपाल स्वयंसेवी रक्तदाता समाजको तेस्रो राष्ट्रिय महाधिवेशनको आज यहाँ उद्घाटन गर्दै उनले मुलुकमा अब आर्थिक समृद्धि कायम गरी सामाजिक रुपान्तरणको अनुभूति नेपाली जनतालाई दिनुपर्छ भने ।

अध्यक्ष दाहालले जनताको लामो संघर्षपछि प्राप्त भएको अहिलेको संविधानले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गरी जनताका अधिकारलाई संरक्षण गर्ने विश्वास व्यक्त गरे ।

मुलुकमा रगतको अभाव हुन नदिन स्वयंसेवी रक्तदाताले सञ्चालन गरेका विभिन्न अभियानको सरहाना गर्दै उनले ग्रामीण भेगमा समेत उक्त समाजको सञ्जाल विस्तार गर्नुपर्नेमा जोड दिए ।

मुटुरोग विशेषज्ञ डा भगवान् कोइरालाले रगतको अभावमा मानिसले मृत्युवरण गर्नुपरेकामा चिन्ता व्यक्त गर्दै रगतको संकलन र वितरण प्रणालीलाई व्यवस्थित बनाइनुपर्ने बताए ।

नेपाल रेडक्रस सोसाइटीका महामन्त्री देवरत्न धाख्खा र डा युवराज शर्मालगायतले मानव जीवनसँग प्रत्यक्ष सरोकार राख्ने रक्त सञ्चार कार्य तथा त्यससम्बन्धी चेतनालाई देशका विभिन्न भागमा प्रवद्र्धन गर्नुपर्ने विचार व्यक्त गरे ।

समाजका अध्यक्ष प्रेमसागर कर्माचार्यले राज्यले गुणस्तरीय रगत परीक्षण र बिरामीलाई निःशुल्क रगतको सुविधाको व्यवस्था गर्नुपर्ने बताए ।

‘कम्तीमा एक परिवार एक स्वयंसेवी रक्तदाता अभियानमा सहभागी हौँ’ भन्ने मूल नाराका साथ शुरु भएको उक्त महाधिवेशनमा मुलुकका २३ जिल्लाबाट ११५ प्रतिनिधिको सहभागिता रहेको छ ।

नयाँ नेतृत्व चयन गर्ने समाजको महाधिवेशन मंगलबारसम्म जारी रहनेछ ।