आर्थिक

लाँकुरी भञ्ज्याङमा बुद्ध मूर्ति स्थापना र विपश्यना ध्यान केन्द्र बनाइने

ललितपुर । श्रीमहालक्ष्मी नगरपालिका–१० स्थित लाँकुरी भञ्ज्याङमा करीब ४० फिट अग्लो भगवान् गौतम बुद्धको मूर्ति स्थापना गर्नाका साथै विपश्यना ध्यान केन्द पनि बनाइने भएको छ ।

पच्चीस सय बैसठ्ठिऔँ बुद्ध जयन्तीका अवसरमा आज सोही नगरपालिका–६ स्थित सिद्धिमंगल बुद्ध विहारमा आयोजित कार्यक्रममा प्रदेश नं ३ का सभासद् माधव पौडेलले सो मूर्ति स्थापना गरिने र ध्यान केन्द्र पनि बनाइने निर्णय भएको जानकारी दिएका हुन् । बुद्धको सन्देशबाट मानिसको हितका साथै ज्ञान पनि प्राप्त हुने भएकाले यसलाई व्यापक रूपले प्रचार–प्रसार गर्नुपर्नेमा उनले जोड दिए ।

उक्त नगरपालिकाका प्रमुख रामेश्वर श्रेष्ठले संक्रमणकाल पछिको देशको शान्ति, सुव्यवस्था र विकासका लागि भगवान् बुद्धका सन्देशले मार्ग प्रशस्त गर्छ भन्दै यसबाट घर परिवार, गाउँ, समुदाय र विभिन्न धार्मिक सम्प्रदाय बीचको सम्बन्ध सुमधुर बनाउन सहयोगी भूमिका निर्वाह गर्ने उल्लेख गरे ।

उक्त विहारका भिक्षु विमलो स्थवीर, सोही क्षेत्रका वडाध्यक्ष वासुदेव महर्जन लगायतका वक्ताले बुद्ध धर्मका विविध विषयमा चर्चा गरेका थिए । सोही अवसवरमा उक्त विहारबाट प्रकाशित ‘त्रि–बोधिरस’ नामक पहिलो मासिक पत्रिका सामूहिक लोकार्पण गरिएको थियो ।