स्वास्थ्य

बैतडीमा औलोको २९ जना बिरामी

बैतडी । प्रदेश नं ७ को पहाडी जिल्ला बैतडी पनि औलोको जोखिममा रहेको पाइएको छ ।

पछिल्लो तीन वर्षयता औलोका बिरामी बढ्दै गएकाले बैतडी औलोको जोखिममा रहेको जिल्ला स्वास्थ्य कार्यालय बैतडीका हेल्थ असिष्टेन्ट सन्तोष पाण्डेयले जानकारी दिए ।

जिल्लाको तल्लोस्वराड क्षेत्रको मेलौली नगरपालिका, शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकाका विभिन्न वडामा औलोका बिरामी फेला परेका छन् । उनले भने “विभिन्न स्वास्थ्य संस्थामा उपचारका लागि पुगेका बिरामीको रगत जाँच गर्दा औलो फेला परेको हो ।”

चालू आव ती क्षेत्रमा अहिलेसम्म २९ जना औलोका बिरामी फेला परिसकेका छन् । गर्मीको समयमा औलोका बिरामी बढ्ने भएकाले यो संख्या अझै बढ्ने जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । पहाडी क्षेत्रमा लामखुट्टेको वृद्धि भएसँगै औलोका बिरामी पनि देखिन थालेका छन् ।

तल्लोस्वराड क्षेत्रमा औलो देखिएपछि गर्भवतीलाई निःशुल्करुपमा झुल वितरण गर्ने काम भइरहेको हेल्थ असिष्टेन्ट पाण्डेयले जानकारी दिए । औलोबाट बच्नका लागि लामखुट्टेको टोकाइबाट बच्नुपर्ने हुन्छ । यसका लागि झुलको प्रयोग गर्नुपर्ने, आफ्नो घर वरिपरिको वातावरण सफा राख्नुपर्ने स्वास्थ्यकर्मीको सुझाव रहेको छ ।