अन्तर्राष्ट्रिय

इजरायले ‘इरानको उत्तेजना’ बारे पोम्पेओसँग छलफल गर्नेः नेतन्याहु

जेरूसेलम । इजरायली प्रधानमन्त्री वेञ्जामिन नेतन्याहुले ‘इरानको उत्तेजना’ बारे अमेरिकी विदेशमन्त्री माइक पोम्पेओसँग जेरूसेलममा आइतबार छलफल गर्ने बताएका छन् ।
इजरायली मन्त्रीमण्डलको साप्ताहिक बैठकको शुरुमा बोल्दै भने, “वासिङ्टनले हालै नियुक्त गरेका विदेशमन्त्री ‘इजरायलको वास्तविक साथी’ हुनुहुन्छ ।”

अमेरिकी विदेशमन्त्री पोम्पेओसँग आफूले क्षेत्रीय विकासलगायत पछिल्लो समय बढेको इरानको उत्तेजना तथा इरानसँगको आणविक सम्झौताबारे छलफल गर्ने नेतन्याहुले बताए । नेतन्याहु इरानसँगको आणविक सम्झौता तथा इरानद्वारा मध्यपूर्वी क्षेत्रमा सिर्जित समस्याको खुला आलोचक हुन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी मे १२ मा इरानमाथि आणविक हतियार सम्बन्धि प्रतिबन्ध लगाउने वा नलगाउने बिषयमा घोषणा गर्ने अपेक्षा गरिएको छ । इरानमाथि पुनः प्रतिबन्ध लगाइएमा सन् २०१५ मा विश्वका छ शक्तिराष्ट्र र इरानबीच भएको महत्वपूर्ण आणविक सम्झौता उल्लङ्घन हुने खतरा छ ।
अमेरिकी विदेशमन्त्री पोम्पेओ मध्यपूर्वको तीनदिन लामो भ्रमणका क्रममा शनिबार साउदी अरबको राजधानी रियाद आइसकेका छन्। भ्रमणका वेला उनले मध्यपूर्वमा अमेरिकाका प्रमुख सहयोगी जेरूसेलम तथा अम्मानका अधिकारीसँग छलफल गर्ने कार्यक्रम रहेको छ । पोम्पेओको अमेरिकी विदेशमन्त्रीका रूपमा अमेरिका बाहिर हुने यो औपचारिक भ्रमण हो ।