अन्तर्राष्ट्रिय

उत्तर दक्षिणको शिखर वार्ताको एक हप्ता नबित्दै ट्रम्पले गरे सनसनीपूर्ण खुलासा

वासिङ्टन, वैशाख १६ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियासँग आगामी तीन वा चार हप्ताभित्र वार्ता गर्ने बताएका छन् ।

मिचिगन राज्यको एक बैठकलाई सम्बोधन गर्दै अमेरिकी राष्ट्रपति ट्रम्पले भने, ‘वार्ताहरु सकारात्मकमात्र नभएर महत्वपूर्ण रुपम अघि बढिरहेका छन् र उत्तर कोरियाका नेता किम जोङ उनसँग आगामी तीन या चार हप्तामा हामीले पनि वार्ता गर्नेछौँ ।’

ट्रम्पले गत महिना उत्तर कोरियासँगको वार्ता अभूतपूर्व रुपमा सफल हुने धारणा सार्वजनिक गरेका थिए ।

राष्ट्रपति ट्रम्पले यो घोषणा गरिरहँदा ह्वाइट हाउसले पनि सो वार्ताको पुष्टि गरेको छ । ह्वाइट हाउसले प्रकाशन गरेको विज्ञप्तिमा भनिएको छ– ‘राष्ट्रपति ट्रम्पले उत्तर कोरियाली नेतासँग वार्ता गर्नुहुने भएको छ र सो वार्ताको मिति चाँडै तय गरिने छ ।’

हालैमात्र उत्तर र दक्षिण कोरियाबीच उच्चस्तरमा भएको वार्ता, सहमति र यी दुई देशबीच भएको युद्धअन्त्यको घोषणासँगै कोरियाली प्रायद्वीपमा शान्ति र वार्ताका लागि ठूलो प्रगति भएको बताइएको छ ।

उत्तर कोरियाली नेता किम जोङ उनले आगामी दिनमा अणु अस्त्रको उत्पादन र जथाभावी परीक्षणको कार्य नगर्ने प्रतिबद्धता जनाइसकेका छन् ।

दक्षिण कोरियाली राष्ट्रपति र जापानी प्रधानमन्त्रीसँग ट्रम्पको फोनवार्ता

यसैबीच अमेरिकी राष्ट्रपति ट्रम्पले शनिबार बिहान दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इनसँग फोन वार्ता गरेका छन् ।

फोनवार्तामा राष्ट्रपति ट्रम्पले उत्तर कोरियाली नेतासँग भएको वार्तापछिको पछिल्लो प्रगतिको बारेमा जानकारी लिएको ह्वाइट हाउसद्वारा प्रेषित एक विज्ञप्तिमा जनाइएको छ ।

सो फोनवार्तामा राष्ट्रपति ट्रम्पले गएको शुक्रबार भएको दुई कोरियाली उच्च नेताबीचको सहमति र सम्झौताका साथै उत्तर कोरियाको पछिल्लो अडान र मनस्थितिको बारेमा कुराकानी गर्नुभएको ह्वाइट हाउसले जनाएको छ ।

त्यसैगरी राष्ट्रपति ट्रम्पले यसै विषयलाई लिएर जापानी प्रधानमन्त्री सिन्जो आबेसँग पनि फोन वार्ता गरेका छन् ।

शनिबार बिहान भएको सो वार्तामा विशेषगरी उत्तर कोरिया र दक्षिण कोरियाबीचको हालै भएको वार्ता र सम्झौताका बारेमा कुराकानी भएको वासिङ्टनबाट प्राप्त समाचारमा जनाइएको छ ।

चिनियाँ राष्ट्रपति सिको कामना

उता चिनियाँ राष्ट्रपति सि चिनफिङले संयुक्तराज्य अमेरिका र उत्तर कोरियाबीचको वार्ताको सफलताको कामना गरेका छन् ।

यी दुई देशबीच हुने भनिएको आगामी वार्ता प्रगतिउन्मुख होस् भन्ने कामना गर्दै राष्ट्रपति सिले सो वार्ता छिट्टै आयोजना गर्न पनि आग्रह गरेका छन् ।

उनले उक्त वार्ताको सफलताको कामना गर्दै वार्ता शान्त र सौहार्द रुपमा सम्पन्न गर्न पनि अमेरिका र उत्तर कोरियालाई आग्रह गरेको जनाइएको छ ।

उत्तर कोरियाली नेता जापानसँग वार्ता गर्न इच्छुक

यसैगरी उत्तर कोरियाली नेता उन जापानसँग पनि वार्ता गर्न इच्छुक रहेको जनाइएको छ ।

उत्तर कोरियाली नेता उन जापानसँग पनि कुनै पनि समयमा आफू वार्ता गर्न तयार रहेको कुरा दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इनसँगको वार्ताका क्रममा जनाएको बताइएको छ ।

कोरियाली प्रायद्वीपमा खुसियाली

कोरियाली प्रायद्वीपमा सन् १९५३ पछि कोरियाली जनता त्रास र अन्यौलमा बाँच्न बाध्य छन् । कोरियाली युद्धका कारण छुट्टिएका परिवारबीच अझै पुनर्मिलन हुन नसकेको अवस्थामा दुई कोरियाबीचको यो पछिल्लो वार्ताले धेरैमा आशा थपेको बताइन्छ ।

पश्चिमालगायतका विश्वका सञ्चारमाध्यमहरुले कोरिया युद्धपछि पहिलो पटक दुई देशका उच्च नेताहरुबीच भएको हालैको यो दुर्लभ भेटले आगामी दिनमा कोरियाली प्रायद्वीपमा शान्ति आउने तथा कोरियाबीच पनि एकता हुनसक्ने सम्भावना रहेको भन्दै खुसी भएका समाचारहरु सम्प्रेषण गरेका छन् । ९राससरसिन्ह्वारएएफपी०