अन्तर्राष्ट्रिय

दक्षिणी यमनमा आइएसका ‘उच्च नेता’ मारिएको प्रहरीको दावी

एडेन, यमन । इश्लामिक स्टेट (आइएस) समूहका एकजना उच्च नेता दक्षिणी यमनको सरकार नियन्त्रित क्षेत्रमा सुरक्षाकर्मीले गरेको खानतलासीका क्रममा शनिबार मारिएका यमनको प्रहरीले जनाएको छ ।

एडेन र अभियान क्षेत्रका उक्त समूहका स्वघोषित नेता (अमिर) सालेह नासर फादल अल–बाक्सीलाई सुरक्षाकर्मीले लुकेर बसेको अवस्थामा यमनको सरकार नियन्त्रित क्षेत्रबाट पक्राउ गरिएको, एडेन प्रहरीका उच्च अधिकारीले एएफपीलाई बताए ।

आइएस र अल कायदाको अरवी प्रायदीपमा संगठित इश्लामिक सञ्जालले यमनको दक्षिणी क्षेत्रलाई सुरक्षित आश्रयस्थल बनाउँदै यमनमा हिंसात्मक गतिविधि सञ्चालन गर्दै आएका छन् ।

यमनी नेता अबेद्रब्बो मन्सुर हाडीलाई यमनी सिया हुथी विद्रोहीले राजधानी सानाबाट धपाएपछि सन् २०१५ देखि दक्षिणी यमनमा बस्दै आएका छन् । उनलाई साउदी नेतृत्वको सैनिक गठबन्धनको सहयोग रहँदै आएको छ ।

दक्षिणी यमनमा अरबी प्रायदीपमा रहेका अलकायदा समूहलाई लक्षित गरी संयुक्त अरब इमिरेट्सको नेतृत्व र अमेरिकी सहयोगमा सुरक्षा कारबाही भइरहेको इलाका पनि हो ।

यमनमा सन् २०१५ मा सुरु भएको द्वन्द्वका कारण झण्डै १० हजार व्यक्तिले ज्यान गुमाएका छन् भने उक्त देशमा संयुक्त राष्ट्र संघको शब्दमा विश्वकै विकराल मानवीय सङ्कट रहेको छ ।