पर्यटन/संस्कृति

‘महासिद्ध स्याँक्चुरी’ बन्ने

काठमाडौँ । हिमालयन भृकुटी फाउण्डेशन नेपालले २५६२औँ बुद्धजयन्तीका सन्दर्भमा लुम्बिनीमा ‘महासिद्ध स्याँक्चुरी फर युनिभर्सल पिस’ निर्माण गर्ने भएको छ ।

यही वैशाख १६ गते भवनको पूर्वाधारका लागि निर्माण शुरु गरिने र तीन वर्षभित्र सम्पन्न गरिने योजना छ । विश्वमा लुम्बिनीलाई शान्तिको थलोका रुपमा विकास गरी पर्यटकलाई आकर्षण गर्ने उद्देश्य राखिएको उक्त केन्द्रमा फराकिलो सभा हल, ध्यान केन्द्र लगायतका संरचना निर्माण गरिनेछ ।

आज यहाँ आयोजित पत्रकार सम्मेलनमा फाउण्डेशनका अध्यक्ष श्याल्पा तेन्जिन रिन्पोछेले विभिन्न जाति, रंग र धर्मका मानिसलाई आध्यात्मिक गन्तव्य र तीर्थस्थलका रुपमा विकास गरिने उक्त केन्द्रमा आधुनिक वास्तुकलाले सजाइएका बौद्ध धर्म, दर्शनको परम्परागत प्रतीकलाई राखिने जानकारी दिए ।

बुद्धको जन्मभूमिका रुपमा रहेको लुम्बिनीमा उक्त केन्द्रको निर्माण भएपछि स्थानीयवासीको शिक्षा, स्वास्थ्यलगायत क्षेत्रमा सामुदायिक विकासका कार्यक्रम अगाडि बढाइने उनले बताए ।

केन्द्रभित्र बुद्धको जीवनीमा आधारित संग्रहालयसमेत निर्माण गरिने हुँदा बुद्धका अमूल्य मूर्ति, ग्रन्थ तथा सांस्कृतिक दृष्टिकोणले महत्वपूर्ण मानिएका वस्तुको पनि संकलन गरिनेछ ।