राजनीति

गृहजिल्ला पुगेर प्रचण्डले गरे यस्तो खुलासा

काठमाडौं । पूर्व प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले महत्वपूर्ण कार्यालय चितवनमै रहने बताएका छन् । प्रदेशका केही मन्त्रालय, राष्ट्रपति चुरे संरक्षणको केन्द्रीय कार्यालय र प्रदेश प्रहरीको हेडक्वाटर चितवनमा राख्ने निर्णय भएको खुलासा गरेका हुन् ।

बुधबार बिहिबार पत्रकारहरुसँग कुराकानी गर्दै उनले चितवन देशको केन्द्र भागमा रहनुको साथै प्रशस्त सम्भावना भएकोले केन्द्रीय तथा प्रदेश कार्यालयहरु रहने बताए ।

‘राष्ट्रपति चुरे संरक्षण भनेको एउटा ठूलो परियोजना हो, त्यसको केन्द्रीय कार्यालय भरतपुरमा राख्ने समझदारी भईसकेको छ,’ प्रचण्डले भने, ‘प्रदेश प्रहरी हेडक्वाटर पनि चितवनमा राख्ने निर्णय भईसकेकाले चितवनमा विकासको लहर आउने छ ।’

अध्यक्ष दाहालले चितवनमा लगानी गर्नका लागि अहिले देशका उद्योगी र विदेशी लगानीकर्ताहरु इच्छुक रहेको भन्दै चितवनमा विकासको गति अघि बढिसकेको बताए । ‘अहिले चीन पनि चितवनमा लगानी गर्न इच्छुक छ, मसँगको कुराकानीमा करिव २५ वटा उद्योग चितवनमै खोल्ने प्रतिवद्धता जनाएका छन्,’ उनले भने ।

उनले चितवनलाई केन्द्र बनाएर वृहत्तर रुपमा विकास गर्नुपर्ने बताए । चितवनको विकासले देशव्यापी प्रभाव पार्ने भएका कारण नयाँ मोडालिटीका आधारमा विकासको योजना ल्याउन लागिएको उनको भनाइ थियो ।