राजनीति

‘निर्वाचन आयोगका पदाधिकारीको सुरक्षामा सरकार गम्भिर’– गृहमन्त्री थापा

काठमाडौँ । गृहमन्त्री रामबहादुर थापाले निर्वाचन आयोगका पदाधिकारीको सुरक्षाको विषयमा सरकार गम्भीर रहेको भन्दै उनीहरुको उपयुक्त सुरक्षा व्यवस्था मिलाइने प्रतिबद्धता व्यक्त गरेका छन् ।

मंगलबार ललितपुरको हात्तीवनस्थित प्रमुख निर्वाचन आयुक्त डा अयोधिप्रसाद यादवको निवासमा पुगी गृहमन्त्री थापाले आयोगका पदाधिकारीको सुरक्षामा कुनै कसर बाँकी नराखिने स्पष्ट पारेका हुन् ।

गत आइतबार साँझ प्रमुख आयुक्त डा यादवको निवासको पर्खालमा अज्ञात समूहले बम विष्फोट गराएको थियो ।

भेटमा गृहमन्त्री थापाले केही समूह अस्थिरता निम्त्याउन उद्दत रहेको भन्दै उनीहरुलाई नियन्त्रणमा लिइने बताए । उनले घटनामा संलग्नको पहिचान नजिक पुगिसकिएको भन्दै उनीहरुलाई छिट्टै पक्राउ पर्ने पनि जानकारी गराएका थिए ।

गृहमन्त्री थापासहित गृहसचिव प्रेमकुमार राई, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल पनि डा यादवको निवासमा पुगेका थिए ।