राजनीति

काँग्रेस बैठकमा निर्वाचन समीक्षा जारी, नेता गुरुगं भन्छन् देउवाले पार्टी बर्बाद पारे

भीष्मराज ओझा/ काठमाडौँ । नेपाली काँग्रेस केन्द्रीय कार्यसमिति बैठकमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा पार्टी पराजयका कारणबारे समीक्षा जारी छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा आज भएको आठौँ दिनको बैठकमा छ जना केन्द्रीय सदस्यले निर्वाचनमा पार्टी पराजयका सम्बन्धमा आआफ्ना धारणा राखेको पार्टी कार्यालयले जनाएको छ ।

गत चैत ९ गतेदेखि शुरु भएको केन्द्रीय समितिको बैठक चैत १६ गते दलका नेता खुमबहादुर खड्काको निधन भएपछि स्थगन गरिएको थियो । त्यसअघि छ दिनसम्म चलेको बैठकमा ४४ केन्द्रीय सदस्यले निर्वाचनमा दलको हारका सम्बन्धमा आफ्ना धारणा व्यक्त गरेका थिए ।

चैत १६ गतेको सातौँ दिनको बैठक भने नेता खड्काप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै सम्पन्न भएको थियो । अन्य बैठकमा केन्द्रीय सदस्यले दलको नेतृत्वको कार्यशैलीका कारण निर्वाचनमा हार व्यहोर्नु परेका सम्बन्धमा पक्ष÷विपक्षमा तर्क गर्नेक्रम जारी छ ।

नेतृत्वका गल्ती र कमजोरीका कारण पार्टी पराजयः नेता गुरुङ

आजको बैठकमा केन्द्रीय सदस्य कुलबहादुर गुरुङले लिखित विचार र राजनीतिक प्रस्ताव राखेका थिए ।

उनले स्थानीय निकायको निर्वाचनमा भएको काँग्रेसको पराजयलाई केन्द्रीय नेतृत्वले समयमै गम्भीरतापूर्वक नलिइ तीनै गल्ती र कमजोरीलाई निरन्तरता दिँदा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा नराम्रोसँग पराजय भोग्नुपरेको उल्लेख गरेका छन् ।

संस्थापक नेता बिपी कोइरालाले अवलम्बन गरेको विचार र चिन्तनलाई छोडेका कारण काँग्रेस आजको दुःखदायी अवस्थामा आइपुगेको निष्कर्ष निकाल्दै उनले बैठकमा भने, “पार्टीको नीति, सिद्धान्त र कार्यक्रमलाई भन्दा सत्तालाई प्राथमिकता दिँदै हामी कहिले उग्रवामपन्थीसँग अंकमाल गर्न पुग्यौँ भने कहिले उग्रदक्षिणपन्थीसँग । सिद्धान्त, निष्ठा र आदर्शलाई भुलेर हाम्रो वर्तमान नेतृत्व केवल सत्ता केन्द्रित हुँदा पार्टी आजको यो अवस्थामा आइपुगेको हो ।”

उनले पार्टी सभापति शेरबहादुर देउवालाई आफूले १३औँ महाधिवेशनमा दिएको समर्थन फिर्ता लिएकोसमेत उल्लेख गरेका छन् । नेता गुरुङले गत महाधिवेशनमा आफूसमेत देशभरका महाधिवेशन प्रतिनिधि साथीले बढो विश्वासका साथ मत दिएर सभापतिमा विजय बनेका देउवाले आफ्नो विश्वास र पार्टीको सिद्धान्तविपरीत पार्टीमा गुटलाई प्रोत्साहित गरेको आरोप लगाए ।

नेता गुरुङले भने, “काँग्रेसको विधानमा समयानुकूल परिमार्जन गरी सबै तहका समितिलाई विघटन गरी तदर्थ समिति बनाई सबै तहको अधिवेशन आगामी छ महिनाभित्र महाधिवेशन सम्पन्न गरी नयाँ निर्वाचनको माध्यमबाट नयाँ नेतृत्वको चयन गर्नु एक मात्र समाधान हो ।”

वाम गठबन्धन नै काँग्रेस पराजयको कारणः नेता विक

बैठकमा अर्का केन्द्रीय सदस्य मीन विश्वकर्माले वाम गठबन्धन नै काँग्रेस हारको मुख्य कारण भएको बताए । उनले काँग्रेस निर्वाचनपछि संसद्मा दोस्रो दलका रुपमा भए पनि निर्वाचन आयोगमा सबैभन्दा बढी जनमत भएको पहिलो पार्टी भएको स्पष्ट पारे ।

विपक्षी दलले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुखलाई लगाएको महाअभियोगको पक्षमा बोल्ने र आफ्नो पार्टी नेतृत्वमा न्यायालयको साख जोगाउन प्रधानन्यायाधीशलाई लगाइएको महाअभियोगका विपक्षमा बोल्ने पार्टीका केही नेताहरुको अनुशासनहीनता, नैतिकहीन र अराजकताका कारण पनि पार्टी पराजय भएको नेता विकको टिप्पणी थियो ।

उनले फरकफरक महाअभियोगमा संलग्न नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) निर्वाचनमा विजयी हुने अनि काँग्रेस महाअभियोगका प्रकरण कारण निर्वाचनमा पराजय भयो भन्न मिल्छ भनी प्रश्न गरे ।

पार्टी पराजयको समीक्षासँगै केन्द्रीय सदस्यलाई आगामी दिनका कार्ययोजना ल्याउन आग्रह गर्दै उनले अन्य पार्टीको तुलनामा काँग्रेस केन्द्रीय समिति सानो आकारको भएकाले विधान संशोधन गरी ठूलो आकारको केन्द्रीय समिति बनाउनुपर्ने धारणा व्यक्त गरे ।

पार्टी सुधारका लागि शीघ्र महाधिवेशनः नेता पौडेल

बैठकमा केन्द्रीय सदस्य प्रदीप पौडेलले निर्वाचनमा पार्टीमा त्याग गरेको र जित्नेभन्दा पनि आफ्ना मान्छेलाई खोजीखोजी टिकट वितरण गरेका कारण अधिकांश स्थानमा पराजय भोग्नुपरेको आरोप लगाए ।

टिकट वितरणमा आर्थिक चलखेलसमेत भएको बताउँदै उनले त्यसरी भएको पराजयको जिम्मेवार को हुने भनी नेतृत्वसँग प्रश्न गरे। गणेश प्रवृत्तिलाई पुरस्कृत गर्ने र कुमार प्रवृत्तिको वास्ता नगर्ने संस्कृतिको अन्त्य नभएसम्म काँग्रेसमा सुधार नहुने भन्दै उनले सानो घेरामा रहने र त्यसैमा रमाउने बानीबाट नेतृत्वलाई मुक्त हुन आग्रह गरे ।

विधानभन्दा माथि कोही पनि हुन नहुने भएकाले पार्टीका सबै गतिविधि विधानसम्मत हुनुपर्ने माग गर्दै नेता पौडेलले महासमिति बैठक बोलाई शीघ्र महाधिवेशन गर्नुपर्ने माग गरे ।

केन्द्रीय सदस्य ईश्वरी न्यौपानेले पार्टीमा सामूहिक नेतृत्वको प्रयोग भएकाले जस अपजस पनि सामूहिकरुपमा लिनुपर्ने बताउँदै पराजयका सम्बन्धमा नेता नै आरोपप्रत्यारोपमा उत्रँदा कार्यकर्तामा थप निराशा पैदा भएको उल्लेख गरे ।

आजको बैठकमा केन्द्रीय सदस्य देवेन्द्रराज कँडेल, बहादुरसिंह लामाले निर्वाचनमा पार्टी पराजयका कारणबारे आफ्ना धारणा राख्दै भावी दिनमा गर्नुपर्ने कामका बारेमा सुझाव दिएको बैठकमा सहभागी नेताहरुले जानकारी दिए । बैठक भोलि बिहान पुनः ८ः३० बजे बस्नेछ ।