पु.समाचार

प्रदूषण मुक्त नेपाल राष्ट्रिय एजेण्डाः वनमन्त्री बस्नेत

काठमाडौँ । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले प्रदूषण मुक्त नेपाल बनाउन मन्त्रालयले आवश्यक तयारी गरिरहेको बताएका छन् ।

नेपाल वातावरण पत्रकार समूह (नेफेज) र स्वच्छ ऊर्जा नेपालको आयोजनामा आज यहाँ आयोजित कार्यक्रममा उनले राष्ट्रिय आवश्यकताअनुसार प्राकृतिक स्रोत व्यवस्थापन र वातावरण संरक्षणका लागि एकीकृत राष्ट्रिय कार्ययोजना बनाउन लागेको जानकारी गराए।

मन्त्री बस्नेतले संविधानले नै स्वच्छ वातावरणमा बाँच्न पाउन मौलिक हकको व्यवस्था गरेकाले यसलाई पूरा गर्न यो विषय हरेक टोल बस्तीको एजेण्डा बन्नुपर्ने धारणा व्यक्त गरे । अबको एक वर्षपछि वातावरणमा देखिएका गुनासो समाधान हुने संकल्प गर्दै मन्त्री बस्नेतले यस अभियानलाई सफल बनाउन सरोकारवाला सबैको सहयोगको अपेक्षा गरे ।

कार्यक्रममा नेफेजका अध्यक्ष अर्जुन ढकालले संविधान अनुसारको संघीयताको ढाँचामा आर्थिक संरचना तयार गर्दा वातावरणका मुद्दा पेचिलो देखिने भन्दै यस सम्बन्धमा सबै तहमा आवश्यक बहस हुनु अपरिहार्य रहेकामा जोड दिए ।

स्वच्छ ऊर्जा नेपालका अध्यक्ष भरत बस्नेतले वातावरण संरक्षणका कार्य नेपाली समाजमा पराम्परागतदेखि नै हुंदै आएको उल्लेख गर्दै वर्तमान समयमा यस मुद्दालाई अझ प्रभावकारी रुपमा अघि बढाउनुको विकल्प नभएको विचार व्यक्त गरे ।

पूर्वराष्ट्रपति डा रामवरण यादवका प्रेस सल्लाहकार एवं वरिष्ठ पत्रकार राजेन्द्र दाहालले मुलुक संघीयतामा जाँदा वातावरण संरक्षणका कार्य स्थानीय तहले गरे पनि यसको नेतृत्व संघले नै गर्नुपर्ने धारणा राखे ।

कार्यक्रममा मन्त्रालयका सहसचिव डा रामप्रसाद लम्साल, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव सुरेश अधिकारी, काठमाडौँ महानगरपालिकाका निर्देशक वसन्त आचार्यले संघीयतामा प्राकृतिक स्रोतको व्यवस्थापन र वातावरण संरक्षण विषयका छुट्टाछुट्टै प्रस्तुति गरेका छन्।