शिक्षा

अन्तर्राष्ट्रिय क्षेत्रमा प्रतिष्पर्धा गर्ने शिक्षामा जोड

हेटौँडा । प्रदेश नं. ३ का मुख्यमन्त्री डोरमणि पौडेलले अन्तर्राष्ट्रिय प्राज्ञिक क्षेत्रमा प्रतिष्पर्धा गर्न सक्ने शिक्षाको विकासलाई संघीय सरकारले उच्च प्राथमिकता दिने बताएका छन् ।

मकवानपुर, मनहरि गाउँपालिका–६ सुनाचुरीस्थित राष्ट्रिय माविमा भर्ना अभियानबारे अभिभावक र राजनीतिक दलका प्रतिनिधिबीच आज आयोजित छलफल कार्यक्रममा मन्त्री पौडेलले शिक्षकहरुले पनि राजनीतिमा लाग्ने काम बन्द गरी विद्यार्थीलाई अध्ययनमा अभिरुचि बढाउन मेहनत गर्नुपर्ने बताए ।

मुख्यमन्त्री पौडेलले प्रदेश सरकारले आगामी वर्षदेखि प्रदेश न ३ का १३ जिल्लामा सडक यातायात, कृषि सडक, स्वास्थ्योपचार, शैक्षिक गुणस्तरीय वृद्धि कार्यक्रम र बृहत् खानेपानी योजना कार्यान्वयन गर्ने लक्ष्य राखेको बताए ।

कार्यक्रममा सांसद विरोध खतिवडा र मकवानपुर जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलालले शैक्षिक गुणस्तरलाई अभिवृद्धि गर्न स्थानीय अभिभावक एवं राजनीतिक दलका पदाधिकारीबाट सकारात्मक सहयोग हुनुपर्ने उल्लेख गरे ।

सो अवसरमा मुख्यमन्त्री पौडेलले विद्यार्थी भर्ना अभियानअन्तर्गत सो विद्यालयमा सुनाचुरीका जेनिसा प्रजा र सञ्जीव ब्लोनलाई कक्षा १ मा भर्ना गरी अभिभावकत्व ग्रहण गरे ।