समाचार

बुटवलको जितगढीमा विजयोत्सव

रुपन्देही । झण्डै दुईसय वर्षअघि अंग्रेजलाई परास्त गरेको दिनको स्मरण गर्दै बुटवलको जितगढीमा आज विजयोत्सव मनाइएको छ ।

बुटवल उप–महानगरपालिकाले यसवर्ष पहिलो पटक वैशाख ७ गतेलाई विजयोत्सवको रुपमा मनाउने निर्णय गरेपछि स्थानीय खाना महोत्सव, वृहद सरसफाइ र प्रभातफेरि लगायतका कार्यक्रम आयोजना गरी सो उत्सव मनाइएको हो ।

दुईसय तीन वर्षअघि कर्णेल उजीरसिंह थापाको नेतृत्वमा गएको टोलीले अंग्रेजलाई पराजित गरेको बुटवलको तीनाउ नदी किनारमा रहेको किल्लाको नाम जितगढी भएको बताइएको छ ।

तत्कालीन बुटवल नगरपालिकाका उप–प्रमुख तथा अनुसन्धानकर्ता विमलबहादुर शाक्यले जितगढी किल्लालाई पुरानै स्वरुपमा निर्माण गर्नुपर्नेमा जोड दिँदै प्राचीन धरोहरको संरक्षण हुनसके पर्यटन प्रर्वद्धनमा सघाउ पुग्ने बताए ।

उनले भने– “जितगढी किल्लाको अवस्थावारे विस्तृत प्रतिवेदन उपमहानगरपालिकमा बुझाइएको छ ।” उपप्रमुख शाक्यकै संयोजकत्वमा बनेको एउटा समितिमा निर्मल श्रेष्ठ, रवीन्द्र गोपाल लाकौल र सूर्यबहादुर केसी सदस्य हुन् । ऐतिहासिक दस्तावेजका आधारमा विज्ञको टोलीले वैशाख ७ लाई अंग्रेजमाथि विजय भएको दिन तोकेको थियो ।

किल्लामा रहेका पाँच ब्लकमध्ये एउटा र आधा मात्रै देखिन्छ भने बाँकी भागको संरक्षणमा चासो नदिँदा तिनाउ नदीले बगाएको बताइएको छ ।
सेन राजाले जितगढी किल्लाको उत्खनन गरेको र त्यस क्रममा, मणिमुकुन्दसेन दरबारतर्फ जाने सुरुङ फेला परेको बताइएको छ । कतिपय ऐतिहासिक दस्तावेजमा सुरुङको लम्वाइ, गहिराई उल्लेख गरेको भेटिएको थियो ।