समाचार

आमा गुमाएका बाँस्कोटाले दिए रु ३० लाखभन्दा बढी सहयोग

तेह्रथुम । आर्थिक अभावमा समयमा उपचार गराउन नसक्दा बाल्यकालमै आमा गुमाएका फेदाप गाउँपालिका ओयाक्जुङका देव बाँस्कोटाले गरीब दुःखीको उपचारमा रु ३० लाखभन्दा बढी पैसा खर्च गरेका छन् ।

आर्थिक उपार्जनकै लागि खाडी मुलुक इजरायलमा कार्यरत बाँस्कोटाले १० वर्षको अवधिमा यत्तिका धेरै रकम अरुलाई सहयोगमै खर्च गरेका छन् । दशकअघि गाउँकै साहुसँग चर्को ब्याजदरमा ऋण खोजेर खाडीमुलुक कतार पुगेका बाँस्कोटाले पहिलो महिनाको कमाइबाटै दुखी गरीबलाई सेवा गर्न थालेका थिए ।

“दुईचार पैसा कमाएर कसरी दुःखी गरीबलाई सहयोग गर्न सकिन्छ भन्ने भावनाले पहिलेदेखि नै पोलिरहन्थ्यो,” हाल इजरायलमा रहेका बाँस्कोटाले टेलिफोनमा भने, “जति पैसा कमाए पनि अरुको सेवामै खर्च गरिरहेको छु ।”

पैसा अभावमा आमालाई बचाउन नसक्दाको पीडाले समाज सेवामा लाग्न प्रेरित गरेको उनले बताए । दश वर्ष प्रवास बसाईमा रु ३० लाखभन्दा बढी प्रत्यक्ष आर्थिक सहयोग गरिसकेको बाँस्कोटाले बताए । पारिवारिक अवस्था अत्यन्तै कमजोर रहेका बाँस्कोटाको विदेशयात्रा धन कमाउने सपना बोकेर १० वर्षअघि साउदी अरबबाट शुरु भएको थियो । उनको वैदेशिक रोजगारीको यात्रा अहिले इजरायल पुगेको छ । यो अवधिमा उनले समाजमा नाम र दाम दुवै कमाएका छन् ।

गीतसंगीतको क्षेत्रमा समेत संघर्ष गरिरहेएका बाँस्कोटाले नेपालका जुनसुकै क्षेत्रमा रहेका भए पनि आपत्विपत्मा परेका नेपालीलाई प्रवासबाटै सहयोग गर्दै आएको बताए । प्रवासमा दुःख गरेर जोहो गरेको पैसाबाट आफूले भौतिक पूर्वाधार निर्माण, पुरस्कार प्रायोजन र बिरामीको उपचारका लागि ठूलो खर्च गरेको उनले बताए ।