शिक्षा

छात्रवृत्तिका लागि रु तीन लाख

money

बाबियाचौर, म्याग्दी । बेनी नगरपालिका–१, अर्जमका एक परिवारले दिवंगत आफन्तको स्मृतिमा रु तीन लाखको छात्रवृत्ति अक्षयकोष स्थापना गरेको छ ।

अर्जमका मानबहादुर र चन्द्रकली थापामगर तथा उहाँका भाइ इन्द्र एलजी र लक्ष्मी थापाले बेनीको प्रकाश माविमा हजुरबुबा स्व बिच्चाराम थापामगरको स्मृतिमा रु तीन लाख १११ को अक्षयकोष स्थापना गरेका हुन् ।

विद्यालयमा सञ्चालित विज्ञान संकायको कक्षा ११ को वार्षिक परीक्षामा उत्कृष्ट अंक प्राप्त गर्ने खस आर्य, जनजाति र दलित समुदायका एक÷एक जना विद्यार्थीलाई अक्षयकोषको ब्याजबाट रु सात हजारका दरले पुरस्कृत गरिने भएको छ ।

छात्रवृत्ति प्राप्त गर्ने प्रत्येक विद्यार्थीले अंग्रेजी, गणित र विज्ञान विषयको परीक्षामा घटीमा ५० प्रतिशत अंक प्राप्त गर्नुपर्ने संस्थापक मानबहादुर थापामगरले जानकारी दिए । लेखा समूहका पूर्वउपसचिव मानबहादुरले गाउँका पूर्व मुखिया रहेका हजुरबुबा बिच्छारामको स्मृतिमा छात्रवृत्ति अक्षयकोष स्थापना गरेको बताए ।

छात्रवृत्ति अक्षयकोष सञ्चालनसम्बन्धी कार्यविधिको विषयमा २०७३ चैत २७ गते प्रकाश माविका प्रधानाध्यापक हरिकृष्ण सुवेदी र संस्थापक थापाबीच १२ बुँदे सम्झौता भएको थियो ।