अन्तर्राष्ट्रिय

प्यालेष्टिनी कैदीमाथिको अपराधबारे अनुसन्धान गर्न राष्ट्रसंघलाई आग्रह

काएरो, इजिप्ट । अरब संसदले थुनामा रहेका प्यालेष्टिनी नागरिकमाथि भएको इजरायली अपराधबारे अनुसन्धान गर्न छानबिन समितिको निर्माण गर्न बुधबार संयुक्त राष्ट्रसंघलाई आग्रह गरेको छ ।

प्यालेष्टिनी कैदी दिवसका अवसरमा एक विज्ञप्ति जारी गर्दै अरब संसदका सभामुख मशाल विन फाहम अल–सलामीले राष्ट्रसंघसँग उक्त अपिल गरेका हुन् ।

राष्ट्रसंघसमक्ष अरब संसदको तर्फबाट एउटा छानविन समिति निर्माण गरी प्यालेष्टिनी नागरिकलाई थुनामा राखिएका सवै इजरायली जेलमा दैनिकजसो हुने गरेका भनिएका अपराधबारे अनुसन्धानका लागि हामी आग्रह गरेका छौँ, सलामीले भने ।

राष्ट्रसंघ तथा अन्य अन्तर्राष्ट्रिय निकायलाई जेलमा हुने गरेका बेथिति तथा अपराधबारे छानविन गर्न आग्रह गर्दै युद्ध अपराध तथा मानवीयता सम्बन्धि अपराधको अन्तर्राष्ट्रिय तहमा बहस थाल्न अनुरोध गरेको उनले बताए ।

सन् २०१८ मा इजरायलसँगको सीमा विवादको सन्दर्भमा करिब दुई हजार प्यालेष्टिनीलाई सुरक्षा नियन्त्रणमा लिएको प्यालेष्टिनी कैदीहरूको क्लब (पीपीसी)ले मङ्गलबार जनाएको थियो ।

इजरायली जेलहरूमा प्यालेष्टिनी कैदीहरूका अधिकारका लागि कार्यरत अर्धसरकारी संगठन पीपीसीले प्यालेष्टिनी कैदी दिवसका सन्दर्भमा सार्वजनिक गरेको प्रतिवेदनमा भनिएको छ, “यो बर्षको शुरूदेखि अहिलेसम्म ३६९ बालबालिका र ३६ महिलासहित एक हजार ९२८ प्यालेष्टिनीलाई इजरायली सुरक्षा घेरामा राखिएको पाइएको छ ।”

प्रतिवेदन अनुसार इजरायलको स्थापना भएको दिन सन् १९४८ को मे १४ देखि हालसम्म करिब १० लाख प्यालेष्टिनीलाई इजरायली प्रशासनले पक्राउ गरेको छ । प्यालेष्टिनी नागरिकले इजरायल स्वतन्त्र भएको उक्त दिनलाई नाक्वा दिवस अर्थात विनासको दिनका रूपमा लिँदै आएका छन् ।

इजरायल स्वतन्त्र भएपछि हालसम्म लाखौँ प्यालेष्टिनी आफ्नो भूमि छोडेर पूर्वी जेरूसेलम, वेस्ट बैंक तथा गाजा क्षेत्रमा विस्थापित रूपमा जीवन विताउँदै आएका छन् ।

अहिले इजरायली जेलमा ३५० बालबालिका, ६५ महिला र छजना सांसदसहित छ हजार पाँचसय प्यालेष्टिनी नागरिकले कैदी जीवन विताइरहेका प्रतिवेदनमा उल्लेख छ ।

कैदीले दिएको जानकारी अनुसार ४८ जनाले बीसबर्षदेखि, २५ जनाले २५ बर्षदेखि र १२ जनाले ३० बर्षदेखि निरन्तर जेल जीवन विताइरहेका छन् ।

यस्तै जेलमा रहेका ७०० कैदी दीर्घरोगबाट पीडित रहेका र नियमित औषधि लिइरहेका छन् भने तीमध्ये २६ जनालाई क्यान्सरको समस्या देखिएको छ ।

प्यालेष्टिनीहरूले प्यालेष्टिनी राष्ट्रिय परिषद्को घोषणा गरिएको दिन सन् १९७४ अप्रिल १७ लाई कैदी दिवसका रूपमा मनाउँदै आएको छ भने परिषद्ले सम्पूर्ण कैदीको रिहाइका लागि आन्दोलन गर्दै आएको छ ।