अन्तर्राष्ट्रिय

अमेरिकी पूर्वप्रथम महिला बुसको निधन

वासिङटन । अमेरिकाकी पूर्व प्रथम महिला बारबारा बुसको मङ्गलबार निधन भएको छ ।  लामो समयदेखि अस्वस्त रहनु भएकी बुसको ९२ बर्षको उमेरमा निधन भएको अधिकारीहरुले जानकारी दिएका छन् ।
उपचार गराउन अस्विकार गरेर घरमै आफन्तसँगै बस्न थालेको केही दिनपछि उहाँको अहिले निधन भएको हो ।

उहाँले जीवनको अन्तिम दिनहरुमा आफन्तसँग बस्न चाहेको भन्दै अस्पतालमा बस्न अस्विकार गर्दै आउनु भएको थियो ।
स्वर्गिय बारबारा बुस उहाँका श्रीमान जर्ज बुस सन् १९८९ र १९९३ मा गरी दुई पटक अमेरिकाको राष्ट्रपति भएका बेला प्रथम पहिलाको रुपमा प्रशंसनीय भूमिका खेल्नु भएको थियो ।
उहाँ सन् २००१ र सन् २००९ मा राष्ट्रपति हुनुभएका जर्ज डब्लु बुसकी आमा समेत हुनुहुन्छ । श्रीमान् र छोरालाई राष्ट्रपति भएको देख्ने उहाँ एक मात्र अमेरिकी महिला हुनुहुन्छ ।
त्यस बाहेक उहाँ साक्षरता अभियान्ताका रुपमा संसारभरी चिनिनुहुन्छ । उहाँले जीवनको अन्तिम समयसम्म पनि साक्षरता अभियानका बारेमा चिन्ता, चासो र सक्रियता देखाईरहनु भएको बताइएको छ ।
“जीवनको अन्तिम घडीसम्म पनि उहाँले हामीलाई पथ प्रदर्शकको रुपमा घच्घच्याईरहनु भयो, बारबारा बुस जस्तो आमा पाउनु मेरोलागि भाग्यको कुरा हो, उहाँलाई गुमाउनु पर्दा हाम्रो परिवारले रित्तो महसूस गरेका छौ, साथै उहाँको लागि प्राथना गरिदिनु भएका सवैप्रति हार्दिक धन्यबाद दिन चाहन्छु,” जर्ज डब्लु बुसद्धारा जारी वक्तव्यमा भनिएको छ ।
राष्ट्रपति डोनाल्ड ट्रम्प र प्रथम महिला मेलानिया ट्रम्पले पनि उहाँको निधनप्रति गहिरो दुःख व्यक्त गर्नु भएको छ ।
राष्ट्रपतिको कार्यालय ह्वाईटहाउसद्धारा जारी वक्तव्यमा उहाँलाई लामो समयसम्म सम्झिरहने र उहाँ सधै अमेरिकी र परिवारको लागि प्रेरणाको श्रोत भईरहने उल्लेख गरिएको छ ।