आर्थिक

औद्योगिक मेलामा रु आठ करोडको कारोबार

भक्तपुर । भक्तपुरको सल्लाघारीमा सञ्चालन भइरहेको चौथो भक्तपुर औद्योगिक, साँस्कृतिक, पर्यटन तथा व्यापार मेलामा रु आठ करोडको व्यापार भएको छ ।

नयाँ वर्षको अवसरमा गत चैत २३ गतेदेखि सञ्चालन भई बुधबार सम्पन्न भएको मेला दुई लाखभन्दा बढीले अवलोकन गरेको आयोजक औद्योगिक शान्ति नेपाल संस्थाका अध्यक्ष सन्दिप महतले जानकारी दिए ।

मेलामा २०० भन्दा बढी दैनिक उपभोग्य सामग्रीको स्टल राखिएको छ भने विभिन्न मनोरञ्जनात्मक बाल उद्यान, रोटेपिङ, मारुती सर्कस, कोलम्बस, जादु, सर्कस, ब्रेक, भूत चिडिया घरलगायत बालबालिकाका लागि खेल सामग्री राखिएको थियो ।

दैनिक दर्जनौँ राष्ट्रिय कलाकारको प्रस्तुतिका कारण पनि मेलाको रौनक बढेको महतले बताए । मेलामा तराई क्षेत्रमा खेलिने प्रशिद्ध कुस्ती प्रतियोगिताको समेत आयोजना गरिएको थियो भने राष्ट्रिय नृत्य प्रतियोगिताको समेत आयोजना गरिएको थियो ।

मेलामा ज्योति मगर, प्रमोद खरेल, राधिका हमाल, बद्रि पंगेनी, गुल्मी गाइज, कमल खत्री, कोमल वली, बैकुण्ठ महत, कमल क्षेत्रीलगायतले प्रस्तुति दिएका थिए ।

औद्योगिक शान्ति नेपाल संस्था र मध्यपुर ब्वाइज ब्याण्डले आयोजना गरेको मेलामा खाद्यान्न, लत्ताकपडा, जुत्ता, कृषि तथा हस्तकला, भाँडाकुँडा, पर्यटन प्रवद्र्धन गर्ने स्टल रहेका मेलाका संयोजक दीपक थापाले जानकारी दिए । त्यसैगरी, मेलामा अटोमोबाइल, राष्ट्रिय तथा स्थानीय खाना महोत्सव, विभिन्न ब्राण्डका मोबाइल तथा इलेक्ट्रोनिक्स सामानका स्टल रहेका थिए ।

मेलाको सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले मेलाको समापन गर्दै यस प्रकारको मेलाले भक्तपुरका बासिन्दालाई धेरै राहत मिलेको बताए ।