पर्यटन/संस्कृति

नवदुर्गा मन्दिर बनाउन १६ वर्षदेखि पदयात्रा

ताप्लेजुङ । मानिस आफ्नो आवश्यकता पूरा गर्न जे काम गर्न पनि तयार हुन्छन् । अन्य र समाजका लागि भन्दा पनि आफ्नै लागि मात्र जिउने मानिसको संख्या समाजमा धेरै पाइन्छ ।

दमकका युवाको स्वभाव भने फरक देखिएको छ । त्यहाँका युवा गाउँकै नवदुर्गा मन्दिर बनाउनका लागि विगत १६ वर्षदेखि पदयात्रा गरिरहेका छन् । उक्त मन्दिर स्थापनाका लागि दमकदेखि त्यहाँका युवा पाथिभरासम्म आइपुग्ने गरेका छन् । विसं २०५८ देखि शुरु भएको पदयात्रा यसवर्ष आएर भने टुंगिएको दमकका ४० वर्षीय पदयात्री मदन राईले बताए ।

निरन्तर १६ वर्षदेखि पदयात्रा गर्दै आएका उनले हालसम्म थुपै्र अनुभव बटुल्दै आएका छन्। उनले पदयात्राका लागि प्रमुख व्यक्तिका रुपमा समेत भूमिका निभाउँदै आएका छन् । “विविध कारणले संख्या घटबढ भए पनि उद्देश्य भने पूरा गरेरै छाड्यौं,” उनले भने, “आठ जनाबाट शुरु भएको उक्त पदयात्रा रामनवमीको भोलिपल्टदेखि शुरु हुनेगरेको थियो । तर यसवर्ष भने विद्यार्थीको परीक्षाका कारण चैत २२ गतेदेखि मात्र शुरु भएको राईले जानकारी दिए ।

समयको अन्तरालसँगै पदयात्रामा युवाको संख्यामा घटबढ भए पनि त्यसको उद्देश्य भने पूरा भइसकेको छ । मन्दिरको दयनीय अवस्थालाई सहज बनाउन नै युवा एकजुट भएर लागेका थिए । पदयात्राका क्रममा अन्य व्यक्ति सहभागी बन्न नसके पनि राईले भने प्रमुख नै बनेर त्यसलाई निरन्तरता दिँदै आएका थिए । “बाटोमा हिँड्ने क्रममा कतिपय साथी निरन्तर २४ घण्टासम्म बाटो भुलेर हिँड्ने गरेका छन्,” यात्राको रमाइलो क्षणलाई उनले भने ।

पदयात्राले दमकको नवदुर्गा मन्दिर भएको समुदायमा सकारात्मक परिवर्तन आएको उनले जानकारी दिए ।
युवाले शुरु गरेको नयाँ सोचलाई साथ दिन समुदायका अन्य अग्रज पनि लागि परेका थिए । त्यसमा श्यामकृष्ण ताम्राकार पनि एक हुन् । विगत सात वर्षदेखि सहभागी बन्दै आएका ताम्राकारले पनि पदयात्राका क्रममा थुप्रै अनुभव बटुलेका छन् । ताम्राकार पाथीभरासम्मको यात्राबाट आफ्नो मनले चिताएको पूरा हुन्छ भन्ने कुरामा पूर्ण विश्वास राख्छन् ।

“कहिले एकादशी त कहिले पूर्णिमाको दिन पारेर नै पाथीभरा आइपुग्ने गरेका छौंँ”, उनले भने । सात वर्षको यात्रामा कुनै पनि अप्रिय घटना नभएको उनले जानकारी दिए । उमेर धेरै भए पनि उनी उत्तिकै स्फूर्त छन् । पाथीभराको आर्शीवादले नै आफू स्वस्थ्य रहेकामा उनी विश्वस्त छन् ।

“ठाउँ ठाउँमा बास बस्दै मन्दिरसम्म आउने गरेका छौँ,” उनले बताए । यात्राका क्रममा धेरै थकान भए पनि पाथीभरासम्म पुग्दा आफ्नो दुःख पीडा सबै भुल्ने गरेको उनले बताए । आफ्नै प्रेरणाबाट नै अन्य युवा सहभागी बनेको उनले जानकारी दिए ।

पदयात्राका लागि शुरुआतमा युवाले नै साथ दिएका थिए । त्यसमा समुदायको पूर्ण साथ र सहयोग रहेको थियो । त्यसमा राई पनि २०६८ सालदेखि पदयात्रामा सहभागी बन्दै आएका छन् । पदयात्रालाई साथ दिन ‘दमकदेखि पाथीभरासम्म’ भन्ने समूह गठन गरी दमकका युवाले साथ दिन थालेका थिए ।

विसं २०७४ मा गठन भएको उक्त समूहले पदयात्राको प्रचारप्रसारको काम शुरु गरेको छ । समाजमा सकारात्मक परिवर्तन ल्याउन समूहको गठन गरिएको समूहका अध्यक्ष अशोक खड्काले जानकारी दिए । “समूहको प्रमुख उद्देश्य आन्तरिक धार्मिक पर्यटनमा वृद्धि गर्नु र मानवीय सद्भाव बढाउनु नै हो”, उनले भने।

यस वर्षदेखि समूहको प्रमुख मात्र नभइ पदयात्रीका रुपमा नै सहभागी बनेका थिए । “यात्राको तेस्रो दिन बाटो थाहा नपाएर २३ घण्टासम्म लगातार हिँडेँ,” उनले भने । बाटो बिराए पनि आफूले पदयात्रालाई सकारात्मक र महत्वपूर्ण रुपमा लिएको उनले बताए ।

पहिलो वर्ष भए पनि आन्तरिक पर्यटन बढाउन समूहले आगामी वर्ष पनि निरन्तर पदयात्रा गर्न युवालाई प्रेरित गरिने अध्यक्ष खड्काले जानकारी दिए । धार्मिक रुपमा समेत आस्था राख्ने २२ वर्षीय अध्यक्ष खड्का पनि अर्को वर्ष पाथीभरा आउन भाकल राखिएको बताए ।
“यस्ता धार्मिक पर्यटनको प्रचार गर्न सके आर्थिक रुपमा पनि उपार्जन हुनसक्छ,” उनले भने । धार्मिक पर्यटनमा युवाको विशेष भूमिका रहने उनले बताए ।

पहिले मन्दिरको जग्गा जम्मा एक कठ्ठा मात्र रहेको तर अहिले आठ कठ्ठासम्मको स्थितिमा आइपुगेको छ । भने मन्दिरको स्थापनाका लागि समुदायबाट श्रमदानलगायत जग्गा समेत हस्तान्तरण हुँदै आइरहेको छ । विशेषगरी दशैंँका समयमा जात्रा लाग्ने उक्त मन्दिरमा भजनकीर्तनका लागि अहिले सत्तलको समेत स्थापना भइसकेको छ । त्यस्तै पक्की र व्यवस्थित भवनसमेत बनिसकेको छ ।

पदयात्राका लागि झापाका युवा धनकुटा, तेह्रथुम, पाँचथर हुँदै हिँडेरै ताप्लेजुङको पाथीभरासम्म आउने गरेका छन् । मन्दिरको स्थापना मात्र नभइ अन्य सामाजिक काम पनि पदयात्राको सहयोगबाट नै गर्ने कुरामा त्यहाँका युवा विश्वस्त छन् ।

पदयात्राका लागि युवाले आवश्यक रकम व्यक्तिगत रुपमा नै खर्च गर्दै आएका छन् । उक्त पदयात्रा नववर्ष २०७५ को अवसर पारेर पूरा भएको थियो । दमकका युवामा जस्तै अन्य युवामा पनि नयाँ सोचको विकास हुन सके समाजको विकास सम्भव छ ।